सुनसरी, वैशाख २२ गते ।
सुनसरीको रामधुनी नगरपालिका ६ बाट लागूऔषध गाँजा बोकेको भारतीय नम्बरको एम्वुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । वैशाख २० गते राती ९ बजे उक्त एम्वुलेन्सको प्रयोग गरी लागूऔषध गाँजा ओसार पसार भईरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरी, धरान, पकली र रामधुनीबाट परिचालन भएको प्रहरी टोलीले लोकमार्ग तथा भित्री सडक खण्डहरुमा सवारी साधनहरु जाँच गर्ने क्रममा रामधुनी ६ पिडारीबाट बिआर ३८ पि ५४१४ नम्बरको एम्बुलेन्समा छ वटा बोरामा लुकाई ल्याउँदै गरेको १८० किलोग्राम गाँजा बरामद गरेको हो ।
गाँजा बरामद भएसँगै एम्वुलेन्स चालक बराहक्षेत्र नगरपालिका ४ का २५ वर्षीय श्रीराज कुमार साहलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पकलीबाट आवश्यक कानूनी कारबाही तथा थप अनुसन्धान भईरहेको छ ।
