म्याग्दी, वैशाख २३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४,नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा हिरक महोत्सव मनाउने तयारी गरिएको छ ।
आगामी जेठ २० गते अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको ७५ वर्ष पूरा हुँदै छ । सन् १९५० जुन ३ का दिन अन्नपूर्ण हिमालमा पहिलो मानव पाइला परेको थियो । हिमाल आरोहणको गौरवमय इतिहास भएको अन्नपूर्णमा यसपाली हिरक महोत्सव मनाउन लागिएको हो । अन्नपूर्ण गाउँपालिकाले विविध कार्यक्रमहरुको आयोजना गरेर हिरक महोत्सव मनाउने तयारी थालेको छ ।
अन्नपूर्ण आरोहणको ७५ वर्ष पूरा भएको छ अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले भन्नुभयो, ‘‘हिरक महोत्सव मार्फत अन्नपूर्ण हिमालको विश्वव्यापी रुपमा प्रचारप्रसार गरेर गौरवपूर्ण इतिहास भएको अन्नपूर्णमा पर्यटक भित्र्याउने हाम्रो उद्देश्य छ ।’’
गाउँपालिका अध्यक्ष पुनको संयोजकत्वमा हिरक महोत्सव मुल समारोह समिति गठन गरी महोत्सवको तयारी थालेको छ ।
आगामी जेठ १६–२२ सम्म विभिन्न कार्यक्रमका साथमा अन्नपूर्ण हिरक महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण संघ, एक्याप र स्थानीय पर्यटन व्यवस्थापन समितिको अगुवाइमा अन्नपूर्ण हिरक महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष पुनले बताउनुभयो। महोत्सवले अन्नपूर्णको प्रचारप्रसार गरी पर्यटन प्रवर्धनमा टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वमा लुइस लचेन र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए ।
म्याग्दीको दाना हुँदै मुस्ताङको घाँसाबाट पूर्व निलगिरी साउथ हिमालको फेदीबाट म्याग्दीको नारच्याङ गाउँको सिरानमा पर्ने हुमखोला देखि भुस्केटमेला हुँदै आरोहीहरु अन्नपूर्ण प्र्रथम हिमाल पुगेका थिए ।
हिरक महोत्सवको असवरमा अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा पहिलो आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली सहयोगी सोनाम वाङ्चुक शेर्पाको सालिक प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गर्ने कार्यक्रम समेत रहेको मौरिस हर्जोग पदमार्गका अभियान्ता तथा अन्नपूर्ण हिरक महोत्सव मुल समारोह समितिका सदस्य तेजबहादुर गुरुङले बताउनुभयो ।
महोत्सवका अवसरमा आधार शिविर सम्म पदयात्रा, ऐतिहासिक हिमाली उपकरण हस्तान्तरण, पुस्तक विमोचन, पुख्र्यौली नृत्य प्रस्तुती, म्याराथन प्रतियोगिता, शालिक अनावरण र खुल्ल सङ्ग्रहालय उद्घाटन लगायतका कार्यक्रमहरु आयोजना गरिने भएको छ ।
पहिलो आरोही मौरिस हर्जोगको श्रीमती र छोरा माथिएस हर्जोगसहित अन्य आरोहीहरु समेतलाई निमान्त्रणा गरिएको उहाँले बताउनुभयो । आधार शिविरमा राखिएको पहिलो आरोहीहरुको अर्धकदको शालिक समेत प्रधानमन्त्री ओलीबाट अनावरण गर्ने कार्यक्रम तय भएको अन्नपूर्ण हिरक महोत्सव मुल आयोजक समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो ।
उक्त दिन प्रधानमन्त्री ओलीबाट मौरिस हर्जोगले अंग्रेजीमा लेखेको ‘द अन्नपूर्ण’ लाई नेपाली भाषामा अनुवाद गरी प्रकाशित गरिएको किताबको विमोचन गरिने पदमार्गका अभियान्ता तथा अन्नपूर्ण हिरक महोत्सव मुल समारोह समितिका सदस्य गुरुङले बताउनुभयो । पर्यटकको सहजताका लागि पदमार्गको हुमखोलादेखि आधार शिविरसम्मको विभिन्न स्थानहरुमा अस्थायी संरचना निर्माण गरी चिया तथा खाजा पसल र खाना र बस्ने सुविधासहितका होटल सञ्चालन ल्याइएको छ । सन्धीखर्क, भुसकेट मेला, पञ्चकुण्ड ताल परिसरमा ४० लाखको लागतमा तीन वटा आश्रयस्थल निर्माण गर्न लागिएको छ ।-CGTN Nepali