हेटौँडा, वैशाख २३ गते ।
कैलाश गाउँपालिकाको कालिकाटारमा गृहणी र किशोरीहरुलाई लक्षित गरी सञ्चालित १४ दिने चाउमिन बनाउने तालिम सम्पन्नभएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको साझेदारीमा लैङ्गिक सशक्तिकरणका लागि उद्यमशीलता विकास तथा व्यवसायिक चाउमिन बनाउने तालिम भएको हो ।
मंगलबार तालिमको समापनामा कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले प्राप्त सिपलाई आयआर्जन र व्यवसायमा प्रयोग गर्न आग्रह गर्नुभयो ।
वडाको आवश्यकताको आधारमा तालिम आयोजना गरिएको भन्दै उहाँले भन्नुभयो, सिप सिक्नुभयो, अब व्यवसाय गर्नुस्, बिउ पुँजीका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्नेछ । आफूले सिकेका सिपलाई व्यवहारमा उतार्नुपर्नेमा उहाँको जोड छ ।
गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले गाउँपालिकाको विकासका कामहरु भइरहेको अवस्थामा नागरिक र लक्षितवर्ग क्षेत्रमा सीपमूलक तालिम प्रदान गर्दै आइरहेको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठले स्थानीय स्तरबाटै उत्पादन गरेर व्यवसाय गर्न सकिए आर्थिक पक्ष बलियो हुने भन्दै सिकेको सीपलाई हस्तान्तरण गर्दै लैजानु पर्ने बताउनुभयो ।
तालिममा सहभागी संगीता प्रजाले आफूले सिकेको सिपलाई आगामी दिनमा व्यवहारमा प्रयोग गर्ने बताउनुभयो ।
कार्यक्रम महिला एकता सार्थक समाज नेपालका अध्यक्ष प्रमिला लामाको अध्यक्षता भएको थियो । चाउमिन बनाउने र उद्यमशील, प्याकेजिङ, लेवलिङ बजारिकरणका बारे आयोजित उक्त तालिममा १७ जना गृहिणी महिला तथा किशोरीको सहभागिता रहेको थियो ।
