खासकुरा संवाददाता
हेटौँडा, वैशाख २५ गते ।
हेटौँडामा भएको मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता को उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । 


हेटौँडा उपमहानगरपालिका ६ स्थित गौरीटार रंगशालामा बिहीबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ३–१ ले हराउँदै एपिएफले उपाधि हात पारेको हो ।
निर्धारित खेल समयमा गोलरहित भएपछि टाइब्रेकरका आधारमा एफिएफले जितेको हो ।
टाइब्रेकरमा एपिएफकी गीता राना मगर, कप्तान अनिता बस्नेत र निशा थोकर तथा पुलिसकी उषा नाथले गोल गर्नुभएको थियो ।
एपिएफकी गोलरक्षक अञ्जना प्लेयर अफ दि म्याच घोषित हुँदै १० हजार रुपियाँ प्राप्त गर्नुभयो ।
प्रतियोगिताको विजेता एपिएफले सात लाख र पुलिसले पाँच लाख रुपियाँ प्राप्त गरेको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपिएफकी रश्मि घिसिङ घोषित हुँदै स्कुटर प्राप्त गर्नुभयो ।
घिसिङलाई बागमती प्रदेश सभाका सदस्य इन्द्रबहादुर बानियाँले स्कुटर प्रदान गर्नुभएको थियो।
एपिएफका क्रमशः उत्कृष्ट गोलरक्षक अञ्जना राना मगर, उत्कृष्ट मिडफिल्डर रेनुका नगरकोटी र उत्कृष्ट प्रशिक्षक जिवेश कुमार पाण्डे घोषित हुनुभयो ।
यस्तै पुलिसका मीना देउवा उत्कृष्ट फरवार्ड र डिफेन्डर समीक्षा घिमिरे घोषित हुँदै जनही २५ हजार रुपियाँ प्राप्त गर्नुभयो ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगिता वैशाख १९ गतेबाट सुरु भएको हो ।
मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँ, बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीन कृष्ण महर्जन, जिल्ला हेटौँडा उपमहानगरपालिकाकी नगरप्रमुख मीना कुमारी लामालगायतले प्रतियोगिताका विजेता तथा उपविजेता टिम र खेलाडीलाई शिल्ड तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।




