खासकुरा संवाददाता
हेटौँडा, वैशाख २९ गते ।
बागमती प्रदेश सरकारले युवा विदेश पलायन रोक्न देशभित्रै रोजगारी सिर्जना गर्न र रोजगारीको सुनिश्चिततासहित तालिन प्रदान गर्नेभएको छ ।
बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच युवालाई बजारको माग अनुसार सूचना प्रविधिसम्बन्धी तालिम प्रदान गर्न सम्झौताभएको छ ।
बागमती प्रदेशका पाँच सय जना युवाहरु विभिन्न चरणमा सूचना प्रविधि बजारको माग अनुसारको तालिम दिई रोजगारीसँग जोड्ने गरी सम्झौता भएको हो ।
आवश्यक ऋण सुरक्षण गर्ने गरी प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनको उपस्थितिमा मन्त्रालयका सचिव वीरेन्द्रदेव भारती र कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेबिच सम्बन्धी समझादारीपत्रमा हस्ताक्षरभएको छ ।
मन्त्रालयले लागतको १० प्रतिशत रकम निक्षेप गरेपछि कोषले आवश्यक ऋण सुरक्षण गर्ने र रोजगारदातासँग समन्वय गरी माग अनुसारको छ महिने तालिम दिई युवालाई रोजगारीसँग जोड्ने समझदारी बनेको श्रम तथा रोजगार हेर्ने बागमती प्रदेशका नीति तथा योजना आयोग सदस्य दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । १२ कक्षा उत्तीर्णभएका युवालाई तालिममा सहभागी गराइने बताउँदै तालिममा आवश्यक स्रोत जुटाउन नसक्ने युवालाई सहुलियतपूर्ण ऋणको व्यवस्था गरिने उहाँले बताउनुभयो । मन्त्री महर्जनले रोजागरीका लागि देशबाट युवा पलायन बढिरहेको सन्दर्भमा नयाँ क्षेत्रको पहिचान गरी रोजगारीको अवसर सिर्जना गर्ने प्रयास गरिएको बताउनुभयो ।




