खासकुरा संवाददाता
हेटौँडा, जेठ ६ गते ।
बागमती प्रदेशसभामा प्रदेश सभा अन्तर्गतका समितिमा दफावार छलफलका लागि पठाइएका चार वटा विधेयकका प्रतिवेदनसहित पेस भएका गरिएको छ ।

प्रदेश सभाको मंगलबार बसेको बैठकमा संसदीय समितिले दफावार छलफल पछि संशोधन प्रस्ताव पारित गरी तयार गरेको विधेयकसहितका प्रतिवेदन पेस भएको हो ।

बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुर प्रसाद ढकालले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसहितको प्रतिवेदन र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकसहितको प्रतिवेदन पेस गर्नुभएको थियो ।

यस्तै उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकसहितको प्रतिवेदन र प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकसहितको प्रतिवेदन पेस गर्नुभयो ।

बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले मुख्य न्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो ।

त्यसअघि प्रदेशसभाको बैठकमा विशेष समयमा प्रदेश सभा सदस्यहरुले प्रदेश सरकारको काम र समसामयिक विषयमा धारणा राख्नुभएको थियो ।




