बागमती प्रदेश सरकारलाई शिक्षक संघको सुझाव

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ ११ गते ।
नेपाल शिक्षक संघ बागमती प्रदेश समितिले बागमती प्रदेश सरकारबाट सञ्चालित शिक्षा सम्बन्धी विभिन्न अनुकरणीय कार्यक्रमहरुलाई आगामी आर्थिक वर्ष २०८२०८३ को बजेटमा निरन्तरता दिन माग गरेको छ ।
शिक्षक संघ प्रदेश समितिले आइतबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले र सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी श्रेष्ठलाई सुझावपत्र बुझाउँदै बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीको लागि प्रदेश सरकारबाट समयानुकूल प्रोत्साहनमूलक ढंगले सेवा सुविधा वृद्धि गर्न माग गरेको छ ।

संघले प्रदेश सरकारसमक्ष १९ बुँदै सुझाव पेस गर्दै विद्यालय नर्स कार्यक्रम प्रदेशका सबै विद्यालयमा लैजान र स्कुल बस सहयोग कार्यक्रमलाई प्रभावकारी हुने गरी विस्तार भनेको छ ।

यस्तै नेपालले लिएको दिगो विकासका लक्ष्य प्राप्ति तथा अन्य अन्तरराष्ट्रिय मञ्चमा नेपालका तर्फबाट गरिएका प्रतिबद्धता समेतका आधारमा प्रदेश सरकारले विनियोजन गर्ने बजेटमध्ये शिक्षामा कम्तिमा २० प्रतिशत विनियोजन गर्ने गरी नीतिगत तथा कानुनी व्यवस्था गर्न संघका अध्यक्ष दीपक सिम्खडा र महासचिव राजेश राज महतद्वारा हस्ताक्षरित सुझावपत्रमा भनिएको छ ।

विद्यार्थी दिवा खाजाको लागि संघीय सरकारवाट विनियोजित वजेट न्यून भएकोले प्रदेश सरकारबाट समेत थप बजेट विनियोजन गर्ने व्यवस्था गर्न भन्दै सुझाव पत्रमा बागमती प्रदेशको समग्र शिक्षाको विकास खासगरी विद्यालय शिक्षालाई गुणस्तरीय प्रतिस्पर्धी बनाउने सवालमा संघ सधैँ क्रियाशील रहने प्रतिबद्धतासमेत जनाइएको छ ।

शिक्षक संघको सुझावपत्र बुझ्दै प्रदेशका मन्त्री आर्थिक मामिला तथा योजनामन्त्री काफ्ले र सामाजिक विकासमन्त्री खड्गीले संघको उपयुक्त सुझावलाई प्रदेशको अधिकार र बजेटको सिमाभित्र रहेर संवोधन गर्ने बताउनुभयो ।

मन्त्रालयमा सुझावपत्र बुझाउन प्रदेश समितिका पदाधिकारीसहित मकवानपुरका जिल्ला समितिका अध्यक्ष गणेश हुमागाईलगायतका पदाधिकारी तथा सदस्यहरु जानुभएको थियो ।

ताजा समाचार

Related Articles