खासकुरा संवाददाता
हेटौँडा, जेठ १४ गते ।
रेड कार्यान्वयन केन्द्रको आयोजना तथा तथा विभिन्न गैरसरकारी संघसंस्थाहरूको सहआयोजनामा हेटौँडामा मंगलबार बागमती प्रदेश स्थानीय वन संवाद कार्यक्रम सम्पन्नभएको छ । 

कार्यक्रममा संघीयतामा नेपाल गएपछि वन र वातावरण सम्बन्धी नीतिगत व्यवस्थाहरूले नागरिकले प्राप्त गरेको लाभहरु, समस्यालगायतका सवालमा कार्यक्रममा छलफलभएको थियो ।

वन संवाद कार्यक्रममा रेड प्लसको परिचय र राष्ट्रिय वनको रणनीतिक योजनाको विषयमा रेड कार्यान्वयन केन्द्रका प्रमुख नवराज पुडासैनीले र दिगो वनको राष्ट्रिय मापदण्ड बारे वनविज्ञ डा. सिन्धु प्रसाद ढुंगानाले कार्यपत्र प्रस्तुत गर्नुभयो ।

यस्तै पारिवारिक निजी वन सम्बन्धमा पारिवारिक निजी वन महासंघका केन्द्रीय अध्यक्ष जोगराज गिरीले र बागमती प्रदेशको राष्ट्रिय वन ऐन, २०७६ मा गर्न लागिएको संशोधनबारे प्रदेश मन्त्रालयका महाशाखा प्रमुख शिव प्रसाद सापकोटाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्र प्रस्तुती सहभागीहरुले उठाएका विविध जिज्ञासा र सुझावप्रति कार्यपत्र प्रस्तोताहरुले जवाफ दिनुभएको थियो ।

वन संवाद कार्यक्रममा बागमती प्रदेश सभाका वन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठ, समिति सदस्य भारती पाठक, प्रदेश सभाका सदस्यहरु, प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव डा. केदार बराल, वन तथा वातावरण मन्त्रालय, वन निर्देशनालय बागमती प्रदेश, डिभिजनल वन अधिकृतहरु, वन अधिकृतहरू, नेपाल वन प्राविधिक संघ, स्थानीय तहका जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले वनलाई उत्पादनसँग जोड्दै नागरिक र सरकारले लाभ लिने गरी आगामी कार्यक्रम र नीति बनाउनुपर्ने बताउनुभयो ।




