खासकुरा संवाददाता
हेटौँडा, जेठ २१ गते । हेटौँडा उपमहानगरपालिकाले स्थानीय रैथाने बिउको संरक्षण गर्न धान पकेट क्षेत्रमा यान्त्रिक उपकरणहरु वितरण गरेको छ ।


बागतमी प्रदेश सरकारसँगको सहकार्यमा उपमहानगरपालिकाले हेटौँडा उपमहानगरपालिका वडा नं. १७ हटियाका किसानलाई बुधबार एक कार्यक्रमका बिच कृषि उपकरण वितरण गरेको हो ।

उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाले किसानलाई कृषि उपकरण वितरण गर्दै आत्मनिर्भर बन्न अब उत्पादनसँग जोडेर जानु आवश्यकभएको बताउनुभयो ।
धान पकेट कार्यक्रम अनुसार किसानलाई अनुदानमा १५५ वटा इलेक्ट्रिक स्प्रे, १६० वटा त्रिपाल, छ जना हाते ट्रयाक्टर, पाँच जनालाई कम्वाइन राईस मिल, १० वटा पानी तान्ते मोटर र दुई वटा डिजिटल काँटा वितरण गरिएको छ ।

साथै किसानलाई धान खेती सम्बन्धी दुई वटा तालिमसहित चार टन मकवानपुरे छोटे र तीन टन राम धानको बिउ गरी सात टन रैथाने (स्थानीय) बिउ वितरण गरिएको थियो ।

साना किसान कृषि सहकारी सस्थाका अध्यक्ष कमला श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–१७ का वडाध्यक्ष उद्धब सत्याल, वडा सदस्य नबराज न्यौंपाने, उपमहानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख जगन्नाथ सापकोटा, कृषि शाखाका प्रमुख प्रदीप रेग्मी, महिला उद्यमी गीता कडरीया मैनाली र उपमहानगरका कृषि प्राविधिक गणेश खड्काको उपस्थिति रहेको थियो ।

हेटौँडा–१७ को चुच्चेखोलादेखि महादेव खोलासम्मको क्षेत्रलाई उपमहानगरले धान पकेटक्षेत्र बनाउने गरी काम गरिरहेको छ । पकेट क्षेत्रका लागि चालु आर्थिक वर्षमा उपमहानगरले १३ लाख रुपियाँ खर्चेर कार्यक्रम अघि बढाएको हो ।




