काठमाडौँ जेठ २२ गते । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको सम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र संघीय संसद् सचिवालयमा पुगेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले हदबन्दी छुटमा पाएको जग्गा अपचलन प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार अभियोगमा मुद्दा दर्ता गरेको हो ।

यस प्रकरणमा अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ अध्यक्ष नेपालका नाममा बिगो कायम गरिएको पनि जनाएको छ । भ्रष्टाचार मुद्दा दायर भएसँगै नेपालको सांसद पद पनि स्वतः निलम्बनमा परेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५८ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ मा भएको व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ । अध्यक्ष नेपाल रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुनुहुन्छ ।
