हेटौँडा, जेठ २३ गते
हेटौँडामा अब एउटै भान्सामा सामुदायिक विद्यालयका पाँच हजार विद्यार्थीलाई दिवा खाजा खुवाइने भएको छ।

हेटौँडा उपमहानगरपालिका–१७ मा रहेको बालबोध माध्यमिक विद्यालयस्थित मेगा भान्सामार्फत सो विद्यालयसहित आसपासका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई दिवा खाजा व्यवस्थापन गरिने भएको हो ।

यसअघि प्रत्येक विद्यालयमा छुट्टै दिवा खाजाको व्यवस्था गरिँदै आएको थियो । सङ्घीय सरकारले चालु आर्थिक वर्ष २०८१÷८२ बाट सातै प्रदेशका एक÷एक स्थानीय तहमा मेगा किचन स्थापना गर्ने घोषणा अन्तर्गत हेटौँडाका पाँच वटा सामुदायिक विद्यालयका विद्यार्थी लाभान्वित हुने भएका हुन् ।

सरकारको कार्यक्रम अनुसार हेटौंडा–१७ स्थित बालबोध माध्यमिक विद्यालयमा एकीकृत भान्सा (मेगा किचन) स्थापना गरिएको छ । मेगा किचनमार्फत दिवा खाजा व्यवस्थापन गर्ने र खाजा बालबोध माविसँगै हेटौंडा–६ स्थित वंशगोपाल मावि, हेटौंडा –१६ स्थित जनप्रिय मावि, हेटौंडा १८ स्थित ज्योति मावि र गोरक्षनाथ माविमा पुर्याइने छ ।

हेटौंडा उपमहानगरपालिकाका शिक्षा विकास महाशाखाका प्रमुख सीताराम कोइरालाले नेपाल सरकारबाट सङ्घीय ससर्त कार्यक्रम अन्तर्गत स्थानीय तहको साझेदारीमा मेगा किचनको स्थापना गरिएको बताउनुभयो । भान्सा सञ्चालन गर्न ५० लाख रुपियाँ प्राप्त भएको छ । मेगा किचन व्यवस्थापन गर्न बालबोध माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्षको संयोजकत्वमा अन्य विद्यालयका अध्यक्ष सदस्य रहने गरी समिति गठन गरिएको छ । मेगा किचन स्थापना र सञ्चालनसम्बन्धी कार्यक्रम कार्य सञ्चालन निर्देशिका, २०५१ बमोजिम प्राप्त भएको ५० लाख रुपियाँ बालबोध माविलाई अनुदान निकासा उपलब्ध गराउने उपमहानगरपालिकाले निर्णय गरेको छ ।
दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन कक्षा पाँचसम्मका विद्यार्थीलाई खाजा उपलब्ध गराउने गरी दिवा खाजालाई व्यवस्थित गर्न सरकारले मेगा किचनको अवधारणा ल्याएको हो ।

हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले स्थानीय तहको साझेदारीमा मेगा किचनको स्थापना र सञ्चालनले विद्यार्थी र अभिभावकलाई सहज हुने बताउनुभयो ।
हाल सरकारले कक्षा ५ सम्मका सामुदायिक विद्यालयका बालबालिकालाई दिवा खाजा खुवाउन विद्यालयमा दैनिक १५ रुपियाँका दरले रकम उपलब्ध गराउँदै आएको छ । हेटौँडासहित विराटनगर महानगरपालिका, जनकपुर उपमहानगरपालिका, पोखरा महानगरपालिका, घोराही उपमहानगरपालिका, वीरेन्द्रनगर नगरपालिका र धनगढी उपमहानगरपालिकामा मेगा किचेन सञ्चालन हुने भएका छन् ।
