खासकुरा संवाददाता
हेटौँडा, जेठ २३ गते । हेटौँडा उपमहानगरपालिका र संघीय सरकारको सहलगानीको हेटौँडामा खानेपानी योजना निर्माण हुने भएको छ ।

उपमहानगरापलिकाको ९, १४ र १५ नम्बर वडा लक्षित गर्दै सिमलटार–रातोमाटे सहलगानी खानेपानी योजना २० करोड रुपियाँभन्दा बढीको लगानीमा निर्माण हुने भएको हो । हेटांैडा उपमहानगरपालिका, संघीय खानेपानी योजना र निर्माण पक्ष बिच शुक्रबार उपमहानगरपालिका कार्यालयमा त्रिपक्षीय सहमती पत्रमा हस्ताक्षर भएको छ ।

२० करोड ५६ लाख रुपियाँको लागतमा दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाउन सम्झौता भएको छ ।
नगर प्रमुख मीनाकुमारी लामा, संघीय खानेपानी योजना प्रमुख पूर्णप्रसाद उपाध्याय, हेटौँडा खानेपानी बोर्डका अध्यक्ष प्रताप विष्ट र निर्माण कम्पनी जयमाता सुप्रिम जेभीका कृष्णहरि चौलागाईले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौता अनुसार उपमहानगरको ३० र संघीय सरकारको योजनामा ७० प्रतिशत लगानी रहने छ ।

हेटौँडा–९ को बेदखोल्सीमा छ लाख लिटर, हेटौँडा–१५ पिसपार्कमा दुई लाख लिटर र हेटौँडा–१४ मा दुई लाख लिटरको खानेपानी ट्याङकी निर्माण गरिने छ । हेटौँडा–१४ मै दुई वटा सामवेल बनाउने सम्झौतामा उल्लेख छ । योजना अनुसार बोर्डले प्रयोगमा ल्याएको सामरीको समवेलको पानीलाई तीन करोड रुपियाँ खर्चेर यही योजनामा समाबेस गर्ने बताइएको छ ।

योजना सम्झौता कार्यक्रममा नगर प्रमुख लामाले निर्माण कार्यलाई गुणस्तरीय बनाउनु आग्रह गर्नुभयो ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँ, उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, खानेपानी बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटालगायतको उपस्थिति थियो ।
