हेटौँडा, असार २ गते । मकवानपुुर प्रहरीले हेटौँडाबाट लागूऔषध खैरो हेरोईनसहित तीन जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका वडा नं. २ बस्ने पूजा श्रेष्ठसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

श्रेष्ठको घरमा लागूऔषध सेवन तथा कारोवर गरिरहेका भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले २४ वर्षीया श्रेष्ठको कोठाभित्र शंकास्पद रुपमा बसिरहेका निज श्रेष्ठ, वडा नं. १ बस्ने वर्ष २० को रिकेश तन्दुकार र वर्ष २४ को रितिक भन्ने राजिब तन्दुकारलाई फेला पारी खानतलासी गर्ने क्रममा निजहरुको साथबाट एक ग्राम ३४० मिलि ग्राम लागूऔषध खैरो हेरोईन फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले लागूऔषध बरामद गरी निजहरु पूजा श्रेष्ठ, रिकेश तन्दुकार र रितिक भन्ने राजिब तन्दुकारलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट सात दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको बताउनुभयो ।




