खासकुरा संवाददाता
हेटौँडा, असार २ गते । प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका १ बाट पेस्तोलसहित राजु स्याङतानलाई प्रहरीले पक्राउ गरेको छ ।
स्याङ्तानको घरमा लागूऔषध तथा हातहतियार खरखजना लुकाई राखेको विशेष सूचनाको आधारमा गएको प्रहरी टोलीले निजको घरगोठ खानतलासी गर्ने क्रममा निजको सुत्ने कोठा भित्र सिरानी मुनी कपडामा बेरी राखेको अवस्थामा ७.६५ एमएम युनिभर्सल मेड इन इटाली ०२५ लेखिएको म्याग्जिनसहितको पेस्तोल एक थान पक्राउ गरेको हो ।

साथै खाली म्यागजिन थप एक थान र गोली (राउण्ड) १३ थान, गोठको दोस्रो तल्लामा मकैको खोस्टा तथा पत्करहरु भित्र कपडामा बेरी प्लाष्टिकको झोलाभित्र राखेको अवस्थामा कटुवा पेस्तोल एक थान र आठ एमएम लेखेको गोली ( कार्तुस ) १२ राउण्ड, लागुऔषध अफिम जस्तो देखिने गिलो पदार्थ १ किलो ३१० ग्राम र गाँजा २२ किलो आठ सय ग्राम बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार उक्त लागुऔषध तथा हातहतियार बरामद गरी निज राजु स्याङ्तानलाई नियन्त्रणमा लिई लागूऔषध तथा हातहतियार खरखजना समेतको कसुर मुद्धामा कारबाही भईरहेको छ ।

यस्तै राक्सिराङ गापा वडा नं. १ ढुंगेनस्थित राजु स्याङतानको घरबाट पाँच सय मिटरको दुरीमा चन्द्रलाल मोक्तानको बारीमा आँपको रुखको फेदमा प्लाष्टिकमा बेरी सेतो बोराको झोला भित्र लुकाई राखिएको अवस्थामा घरेलु कटुवा पेस्तोल एक प्रहरीले बरामद गरेको छ ।

उक्त पेस्तोल लाग्ने गोली पाँच राउण्ड र अफिम जस्तो देखिने पदार्थ एक किलो ४८० ग्राम फेला परी थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ ।

निज राजु स्याङतानको बिगतमा २०७६ साउन ४ गते गाँजा तथा हातहतियार मुद्धामा पक्राउ परी पाँच वर्ष छ महिना कैद सजाय भुक्तान गरी गत वर्षको माघ महिनामा छुटेको र २०७१ सालमा लागुऔषध मुद्धामा पक्राउ परी दुई वर्ष कैद सजाय भुक्तान गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको अभिलेखमा छ ।




