खासकुरा संवाददाता
हेटौँडा, असार २ गते । ललितपुरको महालक्ष्मी नगरपालिका ८ नेपालचौरस्थित एक कालिज फार्ममा पसेको चितुवालाई डार्ट गरेर उद्धार गरिएको छ । सोमबार बिहान घाइते अवस्थामा रहेको चितुवाको डिभिजन वन कार्यालय ललितपुरको अगुवाई उद्धार गरिएको हो ।

कालिज फर्ममा पसेको करिब ५० किलोको वयस्क भाले चितुवालाइ डार्ट (लठ्याउने रसायन) प्रयोग गरी नेपाल प्रहरी र स्थानीयबासीको समेत सहयोगमासफल उद्धार गरेको वन कार्यालयले जनाएको छ ।

पछिल्लो समयमा काठमाडौँ उपत्यका आसपासको क्षेत्रमा चितुवालगायत वन्यजन्तु रातिको समयमा आहाराको लागि सहरी क्षेत्र प्रवेश गर्ने क्रम बढेको छ भने पछि फर्कन बाटो पहिचान गर्न नसक्दा वा कुनै बन्द कोठाहरुमा थुनिँदा आफै आत्तिएर घाइते हुने गरेको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्लामा परिचालन हुने गरी बागमती प्रदेश सरकार विगत दुई वर्षदेखि डिभिजन वन कार्यालय काठमाडौँमा समस्यामा परेका वन्यजन्तु उद्धारका लागि पशु चिकित्सक र र टेलिस्कोपिक डार्ट गनसहितको एक बाइल्ड लाइफ रेस्क्यू टिम बनाएर परिचालन गरिरहेको छ । काठमाडौँ आसपासका जिल्लामा वन्यजन्तु समस्याग्रस्त अवस्थामा रहदाँ त्यसको उद्धारका लागि रेस्क्यू टोली परिचालन गर्ने गरेको डिभिजन वन कार्यालय काठमाडौँका जिल्ला वन अधिकृत पुष्प बर्तौलाले जानकारी दिनुभयो ।

सामान्यतया चितुवालगायतका वन्यजन्तुहरु कुनै ठाउँमा बाटो पहिचान गर्न नसक्दा आक्रमक हुने गर्दछन् उहाँले भन्नुभयो, यस क्रममा अन्य कुनै जीवजन्तु देखेमा आक्रमण गर्दछन् भने जनावर आफै पर्खाल तथा बारहरुमा ठोक्किएर घाइते हुने गरेका छन् ।

यसबाट चितुवा आफै एक आपसमा जोखिमयुक्त बन्न पुगेको छ र स्थानीयबासिन्दा समेत चितुवाबाट आक्रमणमा पर्ने गरेको उहाँले सुनाउनुभयो ।
उहाँका अनुसार यसका समाधानका लागि डार्ट गरी उद्धार गर्ने अभ्यास हाल डिभिजन वन कार्यालयहरुले अपनाउने गरेको छ । मानव बस्तीमा वन्यजन्तुहरु उद्धारका लागि डिभिजन वन कार्यालयमा सूचना प्राप्त भएसँगै घटनास्थलमा वन कर्मचारी पुगेर अवस्था विश्लेषण गरी थप उद्धारको रणनीति अपनाउने गरिएको ललितपुरका जिल्ला वन अधिकृत संयोग बस्नेतले बताउनुभयो । उपत्यकाका डिभिजन वन कार्यालयहरु बीच सहकार्यमा हात्तिसारमा रहेको उद्धार टोली परिचालन हुने गरेको उहाँले सुनाउनुभयो ।

नेपालमा पछिल्लो समयमा वनको विस्तारसँगै चितुवा लगायत वन्यजन्तुको संख्या बढेको बस्नेतले भन्नुभयो यसका कारण वर्षे नै मानव वन्यजन्तु द्वन्द्वका घटनाहरु बढिरहेका छन् । यसबाट वन्यजन्तुबाट मानिसमाथि हुने आक्रमणका घटनाहरु बढीरहेका बताउँदै उहाँले वन्यजन्तुमा समेत मानवीय आक्रमणको जोखिम उच्च हुँदै गइरहेकोले संवेदनशीलता अपनाउनुपर्ने बताउनुभयो ।

घाइते चितुवाको उद्धार पश्चात थप उपचारका लागि जावलाखेल चिडियाखाना पठाइएको र चितुवाको स्वास्थ्यमा सुधार पछि प्राकृतिक बासस्थानमा छाडिने वन कार्यालयले जनाएको छ ।



