हेटौँडा, असार ५ गते । हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ।
साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।
यस्तै देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ।
यस वर्षको मनसुन प्रणाली मिति २०८२/०२/२९ (सन् २०२५ जुन १२ तारिख) गतेका दिन कोशी प्रदेशको बाँकी भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा प्रवेश गरेको छ । नेपालमा यस वर्षको मनसुनको आगमन मिति २०८२/०२/१५ गते ( सन् २०२५ मे २९ तारिख) कोशी प्रदेशबाट भएको थियो।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिँदै मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ। यसको प्रभावले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध छ ।