मनहरी गापाले कृषि उपजको न्यूनतम मूल्य तोक्ने

लोकप्रिय

हेटौँडा, असार ५ गते ।
मकवानपुरको मनहरी गाउँपालिकाले कृषि उपजको न्यूनतम मूल्य सुनिश्चित गर्न समर्थन मूल्य तोक्नेभएको छ ।
मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ पालिका क्षेत्रमा उत्पादित कृषि उपजको न्यूनतम समर्थन मूल्य तोक्नेभएको हो ।

गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले आगामी आवको नीति तथा कार्यक्रम गाउँसभा प्रस्तुत गर्दै पालिकामा उत्पादन भएको कृषि उपजको न्यूनतम मूल्य सुनिश्चित गर्न सहकारी मार्फत कार्यान्वयन हुने गरी समर्थन मूल्य तोकिने बताउनुभएको छ । खेतीयोग्य बाझो जमिनको यथार्थ तथ्याङ्क सङ्कलन गरी बाँझो जग्गा उपयोगमा ल्याउन प्रोत्साहन गर्ने नीति पालिकाले लिनेभएको छ ।

पालिकाले बाझो जमिन उपयोगमा ल्याउन मकै खेतीको लागि बिउ तथा कृषि औजारमा अनुदानको व्यवस्था मिलाउने भन्दै नीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धिका लागि गत आर्थिक वर्षदेखि उपलब्ध गराईएको उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम र कृषि सेवा केन्द्रमा भईरहेको निःशुल्क माटो परीक्षण सेवालार्ई आगामी आवमा पनि निरन्तरता दिईने उल्लेख छ ।

माटोको परीक्षण नतिजाको आधारमा माटो उपचारको लागि आवश्यक पर्ने चुन तथा सुक्ष्म तत्वहरुको परिपुरणमा ५० प्रतिशतसम्म अनुदान हुने व्यवस्था मिलाईने भएको छ ।
सम्भाव्यताका आधारमा तुलनात्मक लागत लाभ भएका, मूल्य अभिवृद्धिमा आवद्ध हुने वस्तुहरुको पहिचान गरी पकेट क्षेत्र घोषणा, सामुहिक खेति संचालन, करार खेति तथा चक्लाबन्दी खेति संचालन गर्ने कार्यलाई प्रोत्साहन गरिने नीति लिइने भएको छ ।

पालिकाले बाली बिमा कार्यक्रमलाई सम्भाव्य उत्पादन क्षेत्रमा लागू गरी सो कार्यक्रममा सहभागी हुन ईच्छुक सबै कृषकको पहुँच सुनिश्चित गरिने अध्यक्ष कालाखेतीले बताउनुभयो ।

यस्तै कृषकलाई वित्तीय सेवामा सहज पहुँचको निमित आवश्यक सहयोग गर्ने, कृषि कार्यमा संलग्न परिवारको विवरण लिई सोही आधारमा किसान सहुलियत कार्डको व्यवस्था गर्ने, कृषि प्रसार तथा प्राविधिक सेवा प्रवाह गर्न कृषक तालिम, मेला प्रदर्शनी, कृषक दिवस, प्रतियोगिता, कृषक पाठशाला, उत्कृष्ट कृषक सम्मान, बाली उपचार शिविरलगायतका कार्यक्रमहरु संचालन गर्ने गरी आगामी आवको नीति तथा कार्यक्रम ल्याइएको छ ।

मनहरी गाउँपालिकाको गाउँसभाको १७ औँ अधिवेशनमा अध्यक्ष कालाखेतीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्भवती महिलाको आधारभुत जाँच तथा भिडियो एक्सरे सेवा निःशुल्क प्रदान गरिने र पूर्ण संस्थागत सुत्केरी भएको पालिका घोषणा गर्न कार्यक्रम सञ्चालन गर्ने,कडा रोग लागेका गरिब तथा अतिविपन्न, असहाय र पूर्ण अपाङ्गता भएकाको लागि एम्बुलेन्स सेवामा छुट दिइने बताउनुभयो ।
पालिकामा बसोबास गर्ने चेपाङ, बोटे, बनकरीयालगायतका अल्पसंख्यक तथा मुस्लिम र दलित समुदायलाई विकासको मुलप्रवाहीकरणमा ल्याउने योजना सञ्चालन गर्ने गरी आगामी आवको लागि नीति तथा कार्यक्रम ल्याइएको छ । यसैगरी ज्येष्ठ नागरिक दिवा विश्रामस्थल निर्माण गर्ने, बालबालिका तथा युवासँग ज्येष्ठ नागरिक अन्तरसम्वाद कार्यक्रम सञ्चालन गर्ने र पालिकाभित्र सम्भाव्य पर्यटकीय क्षेत्रको विकास र सञ्चालनको लागि कानुन तर्जुमा गरी मनहरी पर्यटन विकास बोर्ड गठन गरिने भएको छ ।

पूर्वाधार विकासतर्फ रजैया–लामिटार–चकरी सडक र रजैया–दर्दरा पक्की पुल समयमै निर्माण सम्पन्न गर्न सहयोग र समन्वय गर्ने उल्लेख गर्दै नीति तथा कार्यक्रममा गाउँपालिकाभित्रको महत्वपूर्ण सडकलाई कालोपत्रे तथा ढलान र ग्रावेल गर्ने कामलाई निरन्तरता दिने भनिएको छ । यस्तै पालिकाका जोसुकै व्यक्तिको मृत्यु भएमा अध्यक्ष वा उपाध्यक्ष उपस्थित भई समवेदना व्यक्त गर्ने र सम्बन्धित वडाको सिफारिसको आधारमा मृत्यु संस्कारमा सहयोग पु¥याउन २० हजार रुपियाँ सहयोग गर्ने कार्यलाई आगामी आवमा पनि निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
गाउँपालिकाले आगामी आवको वार्षिक बजेट यही असार १० गते कृषि, पूर्वाधार निर्माण र सामाजिक क्षेत्रलाई प्राथमिकतमा राखेर ल्याउने तयारी गरेको छ ।

ताजा समाचार

Related Articles