हेटौँडा, असार ५ गते ।
हेटौँडा उपमहानगरपालिका वडा नं १ का वडाध्यक्ष सविन न्यौपानेमाथि भएको आक्रमणको घटनाको मकवानपुरमा क्रियाशील सात राजनीतिक दलले विरोध जनाएका छन् ।

राजनीतिक दलहरुले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै वडाध्यक्ष न्यौपानेमाथि बुधबार अज्ञात व्यक्तिहरूद्वारा वडाध्यक्षको कार्यकक्षमा प्रवेश गरी गरिएको सांघातिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विरोध जनाएका हुन् ।

नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेकपा एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामा, नेकपा माओवादी केन्द्रका भीम पाख्रिन, राप्रपा मकवानपुरका कावा अध्यक्ष सागर थापा, रास्वपा मकवानपुरका अस्मिता न्यौपाने, नेकपा एकीकृत समाजवादीका मकवानपुर अध्यक्ष विष्णुप्रसाद दाहाल र राप्रपा नेपाल मकवानपुर अध्यक्ष गुरूप्रसाद सापकोटाद्वारा संयुक्त रुपमा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, समस्याको समाधानको वैकल्पिक उपाय भौतिक आक्रमण होइन यो त लोकतन्त्र प्रतिको अवमूल्यन हो ।

दलहरूले यस प्रकृतिको अराजक गतिविधिहरूलाई आगामी दिनमा दोहोरिन नदिने गरी घट्नामा संलग्न दोषीहरुलाई तत्कालै नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम कडाभन्दा कडा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय एवम् जिल्ला प्रशासन कार्यालय मकवानपुरसँग माग गरेका छन् ।

समस्या समाधानको उत्तम उपाय संवाद र समझदारीलाई उपहास गरी जनप्रतिनिधिमाथि भएको अभद्र एवं अमानवीय व्यवहार प्रति घोर आपत्ति प्रकट गर्दछौ सात दलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि नेपाली कांग्रेस मकवानपुरको कार्यालयमा बिहीबार बसेको सर्वदलीय बैठकले उक्त घटनाको भर्त्सना गर्ने निर्णय गरेको थियो ।
