वडाध्यक्ष न्यौपानेमाथि भएको आक्रमणको घटना योजनाबद्धः डिएलए

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार ५ गते । प्रजातान्त्रिक कानुन व्यवसायी संघ, मकवानपुरले नेपाली काँग्रेस हेटौँडा उपमहानगर समितिका सचिब एवं हेटौँडा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष सविन न्यौपाने माथि बुधबार दिउँसो भएको आक्रमणको घटनाको भत्र्सना गरेको छ ।

प्रजातान्त्रिक कानुन व्यवसायी संघ (डिएलए) मकवानपुरले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उपमहानगरका प्रवक्तासमेत रहेका न्यौपानेमाथि कार्यालय समयमा भएको उक्त घटनालाई योजनाबद्ध, कायरतापूर्ण र हिंसात्मक भनेको छ ।

लोकतान्त्रिक प्रणाली अन्तर्गत जनप्रतिनिधि माथि कार्य सम्पादनकै क्रममा गरिएको यस्ता हिंसात्मक कार्यहरू केवल व्यक्ति विशेषको नभई स्थानीय लोकतन्त्र, विधिको शासन र संस्थागत प्रणालीमाथिको हमला हो भन्ने हाम्रो धारणा रहेको छ विज्ञप्तिमा उल्लेख छ ।

शारीरिक अंगभंग पार्ने नियतसहित गरिएका यस्ता आक्रमणहरू लोकतान्त्रिक समाजमा कदापि सह्य हुन सक्दैनन्, संघका अध्यक्ष कृष्णप्रसाद न्यौपानेद्वारा जारी उक्त प्रेस विज्ञप्तिमा भनिएको छ, कानुन र संविधानले प्रदत्त अधिकार प्रयोग गरी नागरिक सेवामा समर्पित जनप्रतिनिधिमाथि भएको यस्तो अमानवीय कार्यले सम्पूर्ण न्यायप्रेमी समुदायलाई स्तब्ध र चिन्तित तुल्याएको छ।

संघले सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सम्बन्धित राज्य संयन्त्रहरूसँग घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई तुरुन्त पहिचान र कारबाही गर्न, दोषीलाई प्रचलित कानुन बमोजिम कडा सजाय सुनिश्चित गर्न र जनप्रतिनिधि तथा कार्यालयका कर्मचारीहरूलाई कार्यस्थलमा सुरक्षित वातावरण उपलब्ध गराउन माग गरेको छ । यसैगरी, विज्ञप्तिमार्फतसम्पूर्ण कानुन व्यवसायी समुदाय, नागरिक समाज र मानवअधिकार संगठनहरूलाई यस्ता गैरकानुनी, अलोकतान्त्रिक आचरणको एक भएर भर्त्सना गर्न आह्वान गरिएको छ ।

यसअघि कांग्रेस मकवानपुरका जिल्ला सचिव भीमसेन महत र कांग्रेस हेटौँडा उपमहानगर समितिका सभापति उत्सव इटेनीले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै घटनाको विरोध र आक्रमणमा संलग्न भएकाहरुको खोजी गरी कारबाही गर्न माग गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles