खासकुरा संवाददाता
हेटौँडा, भदौ १७ गते ।
बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा १२७ जना डेङ्गु रोगको सङक्रमित थपिएका छन् । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२७ जना सङक्रमित थपिएसँगै यस प्रदेशमा गत जनवरी महिनादेखि आइतबारसम्ममा डेङ्गु रोग सङक्रमितको सङ्ख्या प्रदेशभरमा चार हजार ५०९ जना पुगेको छ । यस्तै बागमती प्रदेशमा डेङ्गु रोग सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या छ जना पुगेको छ ।
मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालका अनुसार ललितपुर र धादिङ जिल्लाका दुई–दुई जना तथा मकवानपुर र काभ्रेपलाञ्चोकका एक–एक जनाको डेङ्गु रोग सङ्क्रमणबाट मृत्युभएको छ । प्रदेशका १३ वटै जिल्लामा डेङ्गु रोगको सङक्रमण फैलिएको छ ।
यस प्रदेशमा गत जनवरी यता सबैभन्दा बढी डेङ्गु रोग फैलिएको धादिङ जिल्लामा हालसम्ममा दुई हजार ८७० जनामा डेङ्गु रोग सङ्क्रमण भएको छ । यसैगरी काठमाडौँमा ४२७, ललितपुरमा २४२, भक्तपुरमा १५७, नुवाकोटमा ८३, रामेछापमा ४३, चितवन २२६, मकवानपुरमा ३५८, काभ्रे ३९, सिन्धुली २९, रसुवा छ, दोलखा १५ र सिन्धुपाल्चोकमा १४ जनामा डेङ्गु सङ्क्रमण भएको छ ।