खासकुरा संवाददाता
हेटौँडा, असार १३ गते । मकवानपुरको थाहा नगरपालिका वडा नं. १ स्थित कुन्छाल क्षेत्रमा एक पैदलयात्रुलाई ठक्कर दिने सवारी साधनको पहिचान खुलेको छ । 

कुन्छाल–कुलेखानी सडकखण्डमा पैदलयात्रुलाई ठक्कर दिने सवारी साधन बा.प्र. ०३–००१ च १७८७ नं.को योद्दा (बलेरो) भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार थाहा नगरपालिका वडा नं. ६ स्थित वज्रबाराहीबाट पालुङतर्फ आउँदै गरेको उक्त सवारीसाधनको ठक्करबाट पैदलयात्रु थाहा नगरपालिका वडा नं. ६ का ७१ वर्षीय सीताराम महर्जनको मृत्युभएको अनुसन्धानको क्रममा खुलेको हो ।

सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका महर्जनको वज्रबाराही स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि सशस्त्र प्रहरी बल अस्पताल, सतुङ्गलमा लगिएकोमा अस्पताल पुग्ना साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाई छ ।

सिसिटिभी फुटेजको आधारमा अनुसन्धान गर्ने क्रममा थाहा नगरपालिका २ फाँट बजारबाट उक्त बलेरो गाडी र धादिङ जिल्ला थाक्रे गाउँपालिका १ का चालक २२ वर्षीय प्रकाश तामाङ र गाडीमा सवार थाहा नगरपालिका २ का १८ वर्षीय सुजल कार्कीलाई बिहीबार नै प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान गरेको थियो ।

प्रदेश प्रहरी कार्यालयले दुवै जनालाई इलाका प्रहरी कार्यालयमा ल्याइ सोधपुछ तथा अनुसन्धान गर्दा चालकले उक्त गाडीले ठक्कर दिएको गएराति खुल्न आएको जनाएको छ ।

पैदलयात्रुलाई ठक्कर दिने गाडी र दुवै जना इलाका प्रहरी कार्यालय पालुङको नियन्त्रणमा रहेका छन् ।




