खासकुरा संवाददाता
हेटौँडा, असार २० गते । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रति सत्तारुढ दलकै प्रदेश सभा सदस्यहरुले असन्तुष्टि जनाएका छन् ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले शुक्रबार प्रदेश सभामा पेस गर्नुभएको बजेटमाथि सामान्य छलफलमा भाग लिँदै प्रदेश सभा सदस्यहरुले नीति तथा कार्यक्रमका आधारमा बजेट नआएको टिप्पणी गर्नुभयो ।
प्रदेश सभा बैठक सुरु भए लगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता उद्धब थापाले बजेट समावेशी रुपमा नआएको र संशोधन गर्न माग गर्नुभयो ।

प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले बजेटमा देखिएको समस्या प्रवृत्तिगत र दलगत समस्या भएको भन्दै बजेटले प्रदेशको समस्याको पहिचान गर्न नसकेको धारणा राख्नुभयो ।
प्रदेश सभा सदस्य युवराज दुलाल बजेटले गम्भीर नकारात्मक चुनौती दिएको र वित्तीय अनुशासनलाई लत्याएको बताउनुभयो ।
यस्तै प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले सरकारले राजस्व वृद्धितर्फ काम नगरेको भन्दै आर्थिक मामिला मन्त्रालयबाट १५ गतेसम्म रकमान्तर गर्ने काम भएकोले यसले बजेटको सदुपयोग हुन नसक्ने बताउनुभयो ।
प्रदेश सभा सदस्य प्रभात तामाङले बजेट दिशाविहीन भएको भन्दै कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधारको क्षेत्रमा लक्षित भएर बजेट नआएको बताउनुभयो । उहाँले प्रदेश सरकार रकम वितरण केन्द्र जस्तो बनेको धारणा राख्नुभयो ।
प्रदेश सभा सदस्य गिरबहादुर तामाङले बजेटमा गौरवको योजना नरहेको र प्रदेशको जनताको पक्षमा नभएको बताउनुभयो ।

उता प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठले पहिरो नियन्त्रण गर्न वन मन्त्रीले बजेट नहालेर व्यक्तिको डिस्को भत्केको ठाउँ बजेट हालेको भन्दै आपत्ति जनाउनुभयो ।
प्रदेश सभा सदस्य रामकृष्ण चित्रकारले सरकारप्रतिको विश्वास मुख्यमन्त्रीमाथिको होइन, गणतन्त्रमाथि र संघीयतामाथिको अविश्वास हो भन्दै कोही पनि बत्तिस लक्षणयुक्तको छैन यो सरकार पनि छैन हिजोको सरकारपनि थिएन अब समीक्षा गरेर जानु पर्ने बताउनुभयो । सुधारका लागि मुख्यमन्त्रीबाट दृढ प्रतिबद्धता आएको छ सहमतिको विन्दुमा हामी पुगेका छौ त्यो सहमतिलाई कमजोर बनाउनेतर्फ कोही लाग्नु हुँदैन उहाँले भन्नुभयो, विरोधका लागि विरोधले हामी कही पनि पुग्दैनौ, हरेक कुरालाई नकारात्मक दृष्टिले हेर्नु हुँदैन ।

प्रदेश सभा सदस्य मायादेवी शर्माले बजेट जनमुखी नभएर मन्त्रीमुखी भएको र विचौलिया नियन्त्रित भएको आरोप लगाउनुभयो ।
प्रदेश सभा सदस्य ओमकुमारी श्रेष्ठले सत्तापक्षकै भागबण्डा नमिलेको र मन्त्री र सत्तापक्षका प्रभावशाली नेताको क्षेत्रमा बजेट गएको भन्दै प्रतिपक्षका केही प्रदेश सभा सदस्यहरुलाई ललिपप देखाइएको छ भन्नुभयो ।
यसैगरी प्रदेश सभा सदस्य डा दिनेशचन्द्र देवकोटा संकल्प प्रस्ताव ल्याएर बजेट तथा कार्यक्रम सुधारेर अगाडि बढ्नु पर्ने धारणा राख्दै बजेटको आकार ठुलो भएकोले कार्यान्वयन चनौतीपूर्ण रहेको बताउनुभयो ।
प्रदेश सभा सदस्य सिर्जना सायजुले बजेटले ठोस आम्दानीको स्रोत खोजी नगरेको भन्दै केन्द्रमा निर्भर भएर बजेट आएको बताउनुभयो ।

प्रदेश सभा सदस्य वसन्तप्रसाद मानन्धरले बजेट निर्माणका क्रममा विकृति र विसंगति देखिएको भन्दै त्यसलाई ढाकछोप गर्न संकल्प प्रस्तावको सहारा लिन खाजेको बताउनुभयो ।
प्रदेश सभा सदस्य मीना पराजुली पोखरेलले यथार्थपरक बजेट नबन्दा कार्यान्वयनमा समस्या आउने गरेको बताउनुभयो ।
प्रदेश सभा सदस्य इन्द्रप्रसद गोतामे स्रोत बिनाको बजेट निर्माण भएको भनाई राख्नुभएको थियो ।
यस्तै प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले बजेट जनसमुदायप्रति उत्तरदायी छैन र लक्षित वर्गमा पुग्न सकेको छैन भन्दै स्वास्थ्यमा समाजवादको बाटो अबलम्बन गर्न आवश्यक भएको बताउनुभयो ।

प्रदेश सभा सदस्य शान्ता ढकालले बजेटमा महत्वपूर्ण पक्ष आझेलमा परेको भन्दै बजेटमा कतिपय सबल पक्षहरु रहेको चर्चा गर्नुभयो ।
प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीले समयमा बैठक सुरु नभएकोप्रति आपत्ति जनाउँदै बहुवर्षीय योजना खारेज र हटाउने गरी बजेट आएको छ भन्नुभयो ।
प्रदेश सभा सदस्य कुमारी तामाङले सवारी चालक अनुमति बजेट विनियोजन गरेर पनि छपाई नहुनु सरकारको गम्भीर कमजोरी भएको धारणा राख्नुभयो ।
प्रदेश सभा सदस्य सुष्पा भुजेल न्यौपानेले नीति तथा कार्यक्रमका आधारमा बजेट नआएको बताउनुभयो ।
प्रदेश सभा सदस्य रामप्रसाद ढुङ्गानाले बजेट झुटको पुलिन्दा भएको आरोप लगाउनुभयो ।
प्रदेश सभा सदस्य युवराज चौलागाईँले यो गठबन्धनको सरकारसँग कानुनी वैधता भएपनि नैतिक वैधता नरहेको बताउनुभयो ।
प्रदेश सभा सदस्य आशा लामाले वित्तीय सुशासन कायम नगरेको र टुक्रे योजना रहेको भन्दै मन्त्रालयको संख्या घटाउन माग गर्नुभयो ।

अर्का प्रदेश सभा सदस्य ठाकुरप्रसाद ढकालले एक प्रदेश एक खेल मैदान भनेपनि आफ्नो क्षेत्रमा बजेट नपरेको भन्दै आफूले माडीको वसन्तपुरमा खेलमैदानका लागि बजेट भनेको काठमाडौँको खेल मैदानलाई हाल्नुभए जस्तो छ भन्नुभयो ।
प्रदेश सभा सदस्य उर्मिला कुमारी लामाले बजेट निर्माणसम्म आइपुग्दा यो सरकार असफल भएको जिकिर गर्नुभयो ।
यस्तै प्रदेश सभा सदस्य रमेशकुमार महतले बजेटमा सकारात्मक प्रतिबद्धता पनि रहेको भन्दै प्रदेशमा सुधारको आवश्यकता महसुस गर्दै संकल्प प्रस्ताव ल्याउने तयारी गरिएको बताउनुभयो ।
प्रदेश सभा सदस्य रत्नप्रसाद ढकालले बजेटले आर्थिक अनुशासन कायम गरेको छैन र विकासको लक्ष्य छैन भन्दै बजेटलाई पुनर्लेखन गर्नु आवश्यक भएको बताउनुभयो ।

आन्तरिक आम्दानी बढाउने गरी बजेट आएको दावी
प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्यवको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री काफ्ले बजेटलाई अधिकतम सन्तुलित बनाउने गरी प्राथमिकता दिएको बताउनुभयो ।
बजेटमा केही कमीजोरी हुनसक्ला तर आन्तरिक आम्दानी बढाउने गरी बजेट र कार्यक्रम ल्याइएको छ उहाँले भन्नुभयो, सार्वजनिक खर्च र बजेट प्रणालीमा सुधार ल्याउने प्रयास गरिएको छ ।
उहाँले प्रदेश संरचना अन्तर्गत दोहोरा कार्यक्षेत्र भएको र औचित्य पुष्टि हुन नसक्ने संरचनाहरुलाई गाभ्ने तथा खारेज गर्ने गरी आगामी आवको बजेट आएको बताउनुभयो ।
बैठकमा मन्त्री काफ्लेले आगामी आव २०८२/०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ (अर्थसम्बन्धी विधेयक) प्रदेश सभा पेस गर्नुभयो ।
३० मिनेटका लागि स्थगित गरिएको बैठक दलहरुबिच सहमति नजुटेपछि शुक्रबार साँझ सूचना टाँस गरेर शनिबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।



