बागमतीको बजेट सबैभन्दा बढी काठमाडौँ र सबैभन्दा कम रसुवामा

लोकप्रिय

हेटौँडा, असार २१ गते । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत बजेट सबैभन्दा बढी काठमाडौँ र सबैभन्दा कम रसुवा जिल्लामा विनियोजन गरेको पाइएको छ ।
आगामी आवका लागि विनियोजित पुँजीगततर्फको कुल बजेटको ११.९ प्रतिशत काठमाडौँ जिल्लामा र रसुवा जिल्लामा २.८ प्रतिशत विनियोजन भएको हो ।

बागमती प्रदेशको विनियोजित बजेटमा भौतिक पूर्वाधार विकास मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र केही महत्वपूर्ण आयोजना अन्तर्गतका पुँजीगत बजेटमा काठमाडौँका लागि तीन अर्ब ९४ करोड ७९ लाख १० हजार विनियोजन हुँदा रसुवा जिल्लामा ९२ करोड ५२ लाख ९० हजार रुपियाँ बजेट परेको छ । दोस्रो बजेट पर्नेमा बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरमा १०.६ प्रतिशत बजेट जाँदा नुवाकोट र काभ्रेपलाञ्चोक जिल्लामा समान १०–१० प्रतिशतको हाराहारी विकास बजेट विनियोजन भएको छ ।

प्रदेश नीति तथा योजना आयोगका सदस्य गुणराज मोक्तानले विकासतर्फको बजेट जिल्लागत रुपमा आफूहरु निकालेको तथ्याङ्क अनुसार नुवाकोट जिल्लामा तीन अर्ब ३१ करोड ६४ लाख ९० हजार र र काभ्रेपलाञ्चोक जिल्लामा तीन अर्ब ३० करोड २५ लाख ७० हजार रुपियाँ पुँजीगततर्फको बजेट परेको जानकारी दिनुभयो ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आगामी आवका लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपियाँ बराबरको आयव्यय प्रदेश सभा प्रस्तुत गर्नुभएको छ । कूल विनियोजित बजेटमा ४१ अर्ब ४३ करोड पुँजीगततर्फ र चालुतर्फ २६ अर्ब चार करोड ४६ लाख रुपियाँ रहेको छ ।

सिन्धुपाल्चोकमा ८.४ प्रतिशत अर्थात् दुई अर्ब ७९ करोड ९५ लाख ४० हजार, दोलखा ८.३ प्रतिशत अर्थात दुई अर्ब ७४ करोड ९९ लाख ५० हजार, चितवनमा ७.५ प्रतिशत अर्थात् दुई अर्ब ४८ करोड ५८ लाख ४० हजार र सिन्धुलीमा ६.८ प्रतिशत अथात् दुई अर्ब २५ करोड ९६ लाख ८० हजार रुपियाँ पुँजीगततर्फको बजेट परेको छ ।
आयोगका सदस्य मोक्तानले भूगोल र जनसङ्ख्यालाई आधार बनाउँदा विनियोजित बजेटको अङ्क घटीबढी पर्न गएको बताउनुभयो ।

यस्तै ललितपुरमा ६.७ प्रतिशत अर्थात् अर्ब २२ करोड ५४ लाख, रामेछापमा ६.१ प्रतिशत अर्थात् दुई अर्ब तीन करोड ११ लाख ४० हजार, धादिङमा ६.१ प्रतिशत खर्थात् दुई अर्ब एक करोड ४० लाख ५० हजार र भक्तपुरमा ४.८ प्रतिशत अर्थात एक अर्ब ५९ करोड ९३ लाख रुपियाँ बराबरको पुँजीगततर्फको बजेट आगामी आवका लागि परेको छ ।

ताजा समाचार

Related Articles