निर्माण व्यवसायीलाई रिहाई गर्न माग

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार २१ गते ।
निर्माण व्यवसायी संघ मकवानपुरले प्रहरीले नियन्त्रणमा लिएका निर्माण व्यवसायीलाई तत्काल रिहाई गर्न माग गरेको छ ।
समाज कल्याण सडक स्तरीकरण योजनाको ठेक्का लिएको दोलखाकाली भूमे कन्स्ट्रक्सन एण्ड सप्लार्यस प्रा.लि.का निर्माण व्यवसायी र हेटौँडा उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष नवीन सिग्देलबिचको वादविवादपछि वडाध्यक्षमाथि कुटपिट गरेको अभियोगमा नियन्त्रणमा लिइएका निर्माण व्यवसायीलाई संघले रिहाइको माग गरेको हो ।
उक्त ठेक्काका निर्माण व्यवसायी मञ्जु तामाङ र ४ नं. वडा अध्यक्ष सिग्देलबिच निर्माणस्थलको माटो उठाउने विषयमा विवाद उत्पन्न भएपछि निर्माण व्यवसायी तामाङले वडाध्यक्ष सिग्देलमाथि कुटपिट गरेको आरोपमा प्रहरीले तामाङलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।
संघका महासचिव राजेन्द्रप्रसाद चौलागाईले एक विज्ञप्ति जारी गर्दै स्थानीय जनप्रतिनिधि र निर्माण व्यवसायी बिच तत्काल आवश्यक छलफल गराई कानुन अनुसार दोषीलाई कारबाही गरी सहजरुपमा काम गर्ने वातावरण बनाउन माग गर्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ, निर्माण अवधिभित्र काम सम्पन्न गर्न खोज्दा निर्माण व्यवसायी र ४ नं. वडाध्यक्ष बिच सांइटको माटो उठाउने विषयमा विवाद उत्पन्न भएपछि वडाध्यक्ष नविन सिग्देलले महिला निर्माण व्यवसायीलाई तथानाम गालीगलौज गरी अपशब्द बोली काम रोक्न नगर प्रहरीसमेत बोलाई काम रोकेको विषयमा निर्माण व्यवसायी र जनप्रतिनिधि बिच वादविवाद भई दुई पक्ष बिच हात हालाहालसम्मको अवस्था आएको प्रति दुःख व्यक्त गर्दछौ ।
निर्माण व्यवसायीलाई काम गर्न नदिई उपभोक्ता समितिबाट काम गराउन खोज्दा भएको उक्त घटना भएको भन्दै दुई पक्षलाई राखेर वार्ता अनुसार कानुनी राज्यको अनुभूति हुने आवश्यक छानविन गरी समस्याको समाधान गर्न विज्ञप्तिमार्फत माग गरिएको छ ।
उहाँले स्थानीय जनप्रतिनिधि र निर्माण व्यवसायी बिच तत्काल आवश्यक छलफल गराई कानुन अनुसार दोषीलाई कारबाही गरी सहजरुपमा काम गर्ने वातावरण बनाउन माग गर्नुभएको छ ।
शहरी विकास तथा भवन कार्यालय र दोलखा काली भुमे कन्स्ट्रक्सन एण्ड सप्लार्यस प्रा.लि बिच मकवानपुरको विभिन्न सडकको छ वटा प्याकेजको लागि सम्झौता भएका मध्ये पाँच वटा काम सम्पन्न गरेको र समाज कल्याण सडक स्तरीकरण योजना काम अगाडि बढाइएको विज्ञप्तिमा भनिएको छ ।
शहरी विकास तथा भवन कार्यालय, ४ नं. वडा कार्यालय र निर्माण व्यवसायी बिच समझदारी र तालमेल नहुँदा र प्राविधिक अनुमान नमिलेको कारण उक्त निर्माण कार्य अवरुद्ध भएपछि ४ नं. वडा कार्यालयले समाज कल्याण सडक स्तरीकरण अन्तर्गत क्याम्पस भित्रको केही कार्यको च्यानेज तोकिएर निर्माण व्यवसायीलाई लगाएको काम समेत उपभोक्ता समितिबाट गराउनु नियम विपरीत भएको विज्ञप्तिमा उल्लेख छ । महासचिव चौलागाईँद्वारा हस्ताक्षरित विज्ञप्तिमा अगाडि भनिएको छ, निर्माण व्यवसायी काम गर्छु भन्दा काम गर्न नदिइ उपभोक्ता समितिबाट काम गराउन खोज्ने र निर्माण व्यवसायीलाई होच्याएर अपशब्द प्रयोग गरिएको प्रति हामी खेद प्रकट गर्न चाहान्छौं ।

ताजा समाचार

Related Articles