बागमती प्रदेशको विनियोजन विधेयकमाथिको सैद्धान्तिक छलफल सम्पन्न

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार २१ गते । बागमती प्रदेश सरकारको आगामी आव २०८२/०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ माथिको सैद्धान्तिक छलफल सम्पन्न भएको छ ।
शनिबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले उक्त विधेयकको सामान्य छलफलका लागि राख्नुभएको प्रस्तावमाथिको छलफलमा प्रदेश सभा सदस्यहरु रत्नप्रसाद ढकाल, उद्धब थापा, सुरेन्द्रराज गोसाई र कृष्णप्रसाद शर्मा खनालले आ–आफ्नो धारणा राख्नुभएको थियो । छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री काफ्लले प्रदेश सभाले गरेको निर्देशन अनुसार प्रदेश सरकार चल्ने बताउनुभयो ।
बागमती प्रदेश सरकारको आगामी आव २०८२/०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२लाई विचार गरियोस् भन्ने सभामुख भुवनकुमार पाठकले राख्नुभएको प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ ।
सभामा विनियोजन विधेयक २०८२ को शीर्षकहरुमा खर्च कटौतीको प्रस्ताव गर्न सूचना दिँदै सभामुख पाठकले आइतबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराउनुभएको थियो ।
यसअघि शुक्रबार ३० मिनेटका लागि स्थगित गरिएको बैठक दलहरुबिच सहमति नजुटेपछि साँझ सूचना टाँस गरेर शनिबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो । तर शनिबार १ बजेको लागि बोलाइएको बैठक दलहरु बिच सहमति जुट्न नसकेपछि दिउँसो ४ का लागि सारिएकोमा उक्त समयमा पछि सहमति नजुटेपछि पुनः समय परिवर्तन गरी साँझ ६ः३० बैठक बस्ने गरी सभामुखले समय परिवर्तन गर्नुभएको थियो ।
आफ्ना छुटेका योजना थप गर्नुपर्ने मागसहित नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलले पुरक प्रस्ताव ल्याउन माग गरेपछि सहमति जुट्न ढिलाई हुँदा बैठक बस्ने समय परिवर्तन भएको थियो । मन्त्री काफ्ले पुरक प्रस्तावको विपक्षमा र माओवादी केन्द्रलगायतका दलहरु पुरक प्रस्ताव ल्याउनु पर्ने अडानमा रहेका थिए । पुरक प्रस्तावको विपक्षमा रहेका मन्त्री काफ्ले असार १ गते पेस गरिएको विनियोजन विधेयकमा छुट भएका योजना भन्दै थप गर्ने प्रस्ताव समेत राख्न अस्वीकार गर्नुभएको थियो । प्रस्तावित विनियोजन विधेयकमा प्रदेशभित्रका थप भएका विभिन्न कार्यक्रमहरुको विवरण मन्त्री काफ्ले पेस नगरेपछि मन्त्री काफ्लेको तर्फबाट प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सभा बैठकमा पेस गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles