खासकुरा संवाददाता
हेटौँडा, असार २५ गते । रसुवागढी सीमा नाका हुँदै बग्ने भोटेकोशी नदीमा आएको बाढी प्रभावितको उद्धार र राहतलाई प्रभावकारी बनाइने भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति एवं जिल्ला सुरक्षा समिति रसुवाको आकस्मिक बैठकले बाढीले पु¥याएको क्षति आंकलन, सम्पर्कविहीनहरूको खोज तथा उद्धार कार्य, राहत वितरण र पुनस्र्थापनालाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलको अध्यक्षतामा बसेको बैठकले सबै सरोकारवाला निकायहरू बीच समन्वय गरी क्रियाशीलताका साथ विपद् व्यवस्थापनका सम्पूर्ण कार्य सम्पन्न गर्ने निर्णय गरेको छ ।

समितिको बैठकले विपद् प्रभावित क्षेत्रमा भएको भौतिक क्षतिको प्रारम्भिक विवरण संकलन गरी यथाशिघ्र प्रतिवेदन पेस गर्न गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडक योजनाका योजना प्रमुख ईन्जिनियर खड्गलाल श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले सम्पर्कविहीनहरूको खोज तथा उद्धारका लागि जिल्लामा उपलब्ध सम्पूर्ण संयन्त्र, औजार तथा उपकरण पूर्ण क्षमतामा प्रयोगमा ल्याउने र जिल्लामा उपलब्ध नभएमा आवश्यक औजार तथा उपकरण उपलब्ध गराउन सम्बन्धित निकायमा यथाशीघ्र अनुरोध गर्ने निर्णय गरेको छ ।

यस्तै विपद्ले अवरुद्ध भएको गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेशी रसुवागढी सडक अन्तर्गतको स्याफ्रुवेशी– रसुवागढी सडकखण्ड तत्काल पुर्ननिर्माण गरी आवागमनलाई सुचारु बनाउनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र बागमती प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय गर्दै यसका लागि आवश्यक पर्ने क्षतिको प्राविधिक मूल्याङ्कन, यन्त्र उपकरणको आवश्यकतालगायतका विषयमा आवश्यक समन्वय र सहजीकरणको काम गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेशी रसुवागढी सडक योजना, नुवाकोटले गर्ने गरी जिम्मेवारी दिइएको छ ।
विपद् प्रभावित क्षेत्रमा अवरुद्ध भएको सञ्चार र विद्युत् सेवालाई तत्काल सुचारु गरी विपद् प्रभावित क्षेत्रको जनजीवन सहज तुल्याउनका लागि नेपाल विद्युत प्राधिकरण, रसुवा वितरण केन्द्र, धुञ्चे र नेपाल टेलिकम, रसुवा शाखाले तत्काल आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

सम्भावित विपद्लाई दृष्टिगत गरी सबै स्थानीय तह, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र, स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र, रसुवा अस्पताल, जनस्वास्थ्य कार्यालय, उद्योग तथा वाणिज्य कार्यालय, उद्योग वाणिज्य संघ, रसुवा चेम्बर अफ कमर्श, नेपाल रेडक्रश सोसाईटी, रसुवा जिल्ला शाखाले जनजीवन सहज बनाउनका लागि अत्यावश्यक खाद्यान्न, औषधी, उपकरण र अन्य तत्कालको राहत सामग्री अभाव नहुने गरी आवश्यक प्रबन्ध गर्न भनिएको छ ।
बैठकले राहत वितरण कार्यलाई एकद्वार प्रणाली मार्फत सञ्चालन गर्ने र यस कार्यका लागि जिल्ला समन्वय समितिको कार्यालय रसुवाले आवश्यक सहयोग, निर्देशन, समन्वय र सहजीकरण गर्ने गरी तोकिएको छ ।
यस्तै रोजगारी, ब्यवसाय र पर्यटनको सिलसिलामा चीनको केरुङमा रहेका विपद् प्रभावित नेपाली नागरिकहरूलाई सुरक्षित साथ राख्न र नेपाल फर्कन चाहनेहरूलाई फर्कने व्यवस्था मिलाउन परराष्ट्र मन्त्रालय मार्फत आवश्यक समन्वय तथा पहल गर्न नेपाल सरकार, गृह मन्त्रालयमा अनुरोध गरिनेभएको छ । साथै, तत्कालको राहतका लागि जिल्ला सुरक्षा समिति, रसुवाले चिनियाँ समकक्षीसँग आवश्यक समन्वय तथा सहजीकरण गर्ने निर्णय बैठकले गरेको छ ।




