आयुर्वेद चिकित्सालय आफ्नै भवनमा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार २९ गते । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मकवानपुरले आफ्नै नयाँ भवनबाट सुरु गरेको छ ।
यसअघिको भवन जीर्ण भएपछि भाडाको भवनबाट सेवा प्रदान गर्दै आएकोमा हेटौँडा उपमहानगरपालिका २ मा १६ शय्याको नवनिर्मित चिकित्सालय भवनको आइतबार उद्घाटन गरिएको छ ।

भवन उद्घाटन गर्दै बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले प्रदेश सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले प्रदेश संचरनामा गएपछि स्वास्थ्य सेवामा सुधार आएको र नागरिकको स्वास्थ्य सेवामाथिको पहुँच वृद्धि भएको बताउनुभयो ।

उहाँले चितवन र नुवाकोटमा आयुर्वेदको अन्तरंग सेवा सुरु भइसकेको र मकवानपुरमा पनि अन्तरंग सेवा सञ्चालन गर्ने तयारी भइरहेको भन्दै प्रदेश सरकारले २१ प्रकारको औषधी वितरण गर्ने गरी काम अगाडि बढाएको बताउनुभयो ।
चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष अर्जुन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्यद्वय एकलाल श्रेष्ठ र प्रेमबहादुर पुलामीले पछिल्लो समय आयुर्वेद तथा वैकल्पिक चिकित्साको माग बढेको भन्दै चिकित्सालयले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

चिकित्सालयका कार्यालय प्रमुख डा. ललिता पाण्डेले चिकित्सालयका वर्तमान समस्याका बारेमा जानकारी गराउँदै चिकित्सालयमा स्वास्थ्य बिमा कार्यक्रम लागु गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले चिकित्सालयले हाल फार्मेसी सेवा, पूर्वकर्म पञ्चकर्म सेवा, निःशुल्क फिजियोथेरापी सेवालगायतका सेवा प्रदान गर्दै आइरहेको बताउनुभयो । चिकित्सालयको नयाँ भवन भ्याटसहित सात करोड ५३ लाख ८२ हजार ५१३ रुपियाँको लागतमा निर्माण गरिएको हो ।

ताजा समाचार

Related Articles