बागमती प्रदेशका चार मन्त्री बर्खास्त

लोकप्रिय

हेटौँडा, साउन ९ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले नेपाली कांग्रेस संसदीय दलको नेतामा आफूविरुद्ध हस्ताक्षर गर्ने चार जना मन्त्रीलाई पद मुक्त गर्नुभएको छ ।
मुख्यमन्त्री लामाले कांग्रेसबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई शुक्रबार पदमुक्त गर्नुभएको हो ।
नेपालको संविधानको धारा १६९ (२) (ख) बमोजिम मन्त्रीहरुलाई पदमुक्त गरिएको बागमती प्रदेशका प्रदेश प्रमुखलाई पठाइएको पत्रमा उल्लेख छ ।
मुख्यमन्त्री लामाले आफू विरुद्ध संसदीय दलको नेतामा अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने चार मन्त्रीलाई बर्खास्त गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, औपचारिक रुपमा राजीनामा आएको छैन, मेरो विरुद्ध हस्ताक्षर गरेको पाए, त्यसैले बर्खास्त गरेका हुँ ।
नेपाली कांग्रेस संसदीय दलको नेता समेत रहनुभएका लामाविरुद्ध चार मन्त्रीसहित २१ जना प्रदेश सभा सदस्यले संसदीय दलको नेताबाट हटाउन हस्ताक्षर गरी शुक्रबार नै कांग्रेस संसदीय दलमा प्रस्ताव दर्ता गराएका थिए । पदमुक्त गरिएको चारै जना मन्त्रीले यसअघि आफूले मन्त्री पदबाट राजीनामा दिएको बताउनुभएको थियो ।

ताजा समाचार

Related Articles