हेटौँडा, साउन १५ गते । बामगती प्रदेश प्रमुखको कार्यालयले आफैले तय गरेको बागमती प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरुको सपथ ग्रहण रोकिएको छ ।
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा अस्वस्थ भएपछि बिहीबार दिउँसोका लागि तय गरिएको नवनियुक्त मन्त्रीहरुको सपथग्रहण समारोह रोकिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
बागमती प्रदेश मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको सिफारिशमा प्रदेश प्रमुख देवकोटाले बुधबार तीन जनालाई मन्त्री पदमा नियुक्तिसँगै मन्त्रीपरिषद् पुनर्गठन, कार्यविभाजन गरी बिहीबार दिउँसो १ः०० बजेका लागि प्रदेश प्रमुखको कार्यालयनै तय गरेको सपथ ग्रहण कार्यक्रम रोकिएको हो ।
मुख्यमन्त्री लामाको सिफारिशमा प्रदेश प्रमुखले प्रदेश सभा सदस्यहरु गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठ मन्त्री पदमा नियुक्त गर्नुभएको थियो ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले बिहीबार दिउँसोका लागि नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनियताको सपथ ग्रहण समारोह राखिएको थियो तर प्रदेश प्रमुख बिरामी पर्नु भएकोले रोकिएको जानकारी दिनुभयो ।
प्रदेश प्रमुखको कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै अर्को सूचना प्रकाशन नभएसम्मको लागि सपथ ग्रहण कार्यक्रम स्थगन गरिएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘बागमती प्रदेश सरकारका नव नियुक्त माननीय मन्त्रिज्यूहरुको सपथ ग्रहण समारोह मिति २०८२ श्रावण १५ गते बिहीवार दिनको ०१ः०० बजेको लागि तोकिएकोमा माननीय प्रदेश प्रमुखज्यूको स्वास्थ्यमा अकस्मात समस्या आएकोले उपचारार्थ आज विहानै काठमाडौं प्रस्थान गर्नु भएको हुँदा माननीय प्रदेश प्रमुखज्यूको निर्देशानुसार अर्को सूचना प्रकाशन नभएसम्मको लागि सपथ ग्रहण कार्यक्रम हाललाई स्थगन गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।’
प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको नेतामा निर्वाचित भएपछि आफू दलको नेतामा निर्वाचित भएको पत्र गएराति नै प्रदेश प्रमुख देवकोटालाई भेटेर बुझाउनुभएको थियो । यस्तै गएराति नै प्रदेश प्रमुख देवकोटा नेकपा एमालेकी नेतृ विष्णु ओझाको घरमा पनि पुग्नुभएको थियो ।
आफ्नो सामाजिक सञ्जाल फेसबुकमा नेतृओझाले प्रदेश प्रमुख देवकोटा दम्पत्तिलाई घरमा स्वागत गरेको र समसामयिक विषयमा संवाद गरेको उल्लेख गर्दै लेख्नुभएको छ ।
नवनियुक्त मन्त्रीहरु लम्साललाई आन्तरिक तथा कानुन मन्त्रालय, गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालय र श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने गरी नियुक्ति गरिएको छ ।




