बागमतीमा सत्ता संघर्षः विवाद समाधान गर्न सभापति देउवाले दुवै पक्षलाई राखेर छलफल गर्ने

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन १६ गते । बागमती प्रदेशमा मुख्यमन्त्रीलाई लिएर मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ र नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँबिच विवाद बढ्दो छ ।
संसदीय दलको नेता भएपछि बानियाँले लामालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न भन्दै आएपनि मुख्यमन्त्री लामाले राजीनामा नदिने बताउँदै आउनुभएको छ ।
मुख्यमन्त्री नछाड्ने र छाड्नुपर्ने लामा र बानियाँ दुवैको आ–आफ्नै जिकिर र तर्कहरु रहेको छ ।
मुख्यमन्त्रीका विषयमा लामा र बानियाँबिच विवाद बढ्दै गएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले बागमती प्रदेशको पछिल्लो घटनाक्रम प्रति चासो देखाउनुभएको छ ।
सभापति देउवाले मुख्यमन्त्री लामालाई काठमाडौँमा बोलाएर विवाद नलम्ब्याउन र छिटो समाधान गर्न सुझाउनुभएको लामा निकट एक प्रदेश सभा सदस्यले बताउनुभयो ।
मुख्यमन्त्रीका विषयमा लामा र बानियाँबिचको बढ्दो विवाद समाधान गर्न आज भोलिमा दुवै पक्षलाई राखेर सभापति देउवाले कुराकानी गर्ने तयारी गरेको लामा निकट एक प्रदेश सभा सदस्यले बताउनुभयो । हारजित भन्दा पनि सबै मिलेर जानु पर्छ भन्नेमा सभापति देउवाको जोड छ उहाँले भन्नुभयो, सभापति देउवाले दुवै पक्षलाई सँगै राखेर उपयुक्त निकास दिने गरी छलफल गर्न बोलाउँदै हुनुहुन्छ ।
सभापति देउवासँगको भेटमा पनि मुख्यमन्त्री लामाले आफूले संवैधानिक रुपमा राजीनामा दिनुपर्ने अवस्था नरहेको बताउनुभएको थियो ।
सभापतिसँगको भेटपछि मुख्यमन्त्री लामाले आफ्ना पक्षधर साथीहरुसँग सल्लाह गरेर निर्णय गर्ने बताएको ती प्रदेश सभा सदस्यले बताए ।
सभापति देउवाले दुवै जना राजनीतिक सम्भावना भएको व्यक्ति भएको भन्दै छिटो निकास दिनुपर्ने बताउनुभएको ती प्रदेश सभा सदस्यको भनाई छ ।
सभापति देउवाले दुवै जनालाई सँगै राखेर छलफल गरेपछि अहिले देखिएको कांग्रेसभित्रको समस्याको निकास निस्कने अपेक्षा गरिएको प्रदेश सभा सदस्यले बताए ।
संसदीय दलको नेता पदको लागि बुधबार भएको निर्वाचनमा पराजित भएपछि लामाले आफूले राजीनामा दिनुपर्ने कुनै आधार नै नभएको बताउनुभएको थियो ।
संविधानभन्दा बाहिर कोही पनि ठुलो नहुने मुख्यमन्त्री लामाले भन्नुभयो ।
उहाँले यो सरकार संविधानको धारा १६८(२) अनुसार बनेको सरकार भएकोले त्यसअनुसार सरकार गठन गर्दा दलको नेता हुनैपर्छ भन्ने छैन भन्नुभयो ।
उता बानियाँले लामा संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बनेकाले राजीनामा दिनुपर्ने बताउँदै आउनुभएको छ ।
लामा कांग्रेसको संसदीय दलको नेताका हैसियतले दुई दलबीच गठबन्धन हुँदा मुख्यमन्त्री बन्नुभएको हो अब संसदीय दलको नेता नरहेपछि राजीनामा दिँदा सहज हुने बानियाँको भनाई छ ।
यसैगरी प्रदेश सभा सदस्य रामकृष्ण चित्रकारले पार्टीभित्रको विवाद भएकोले पार्टीभित्रै बसेर समाधान गर्नुपर्नेमा जोड दिनुभयो । अहिले कांग्रेसको एकमना सरकार होइन, बहुमत छैन, कांग्रेसको प्रदेश सभा सदस्यले मात्र सरकार बनाउने संख्या पुग्दैन, सरकार बनाउन ५६ जना सदस्य आवश्यक हुन्छ उहाँले भन्नुभयो, ५६ जना प्रदेश सभा सदस्य पु¥याउने प्रदेश सभा सदस्य प्रदेशको मुख्यमन्त्री बन्नुहुन्छ ।
उहाँले नेता भएपछि सबैलाई मिलाएर लैजानुपर्नेमा जोड दिँदै नेताले सबैको मर्यादा राख्दै आफू पनि मर्यादामा बसेर सबैको भावना बुझेर अगाडि बढ्नु पर्ने बताउनुभयो ।

ताजा समाचार

Related Articles