खासकुरा संवाददाता
हेटौँडा, साउन १७ गते । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ५ स्थित बुङ्दलमा श्रीमतीको घाँटी थिचेर श्रीमान्ले हत्या गरेका छन् । मकवानपुरगढी वडा नम्बर ५ बुङदलमा ससुरालीमा बस्दै आएका ४५ वर्षीय मानबहादुर शिवभक्तिले शनिबार बिहान ६ः०० बजेको समयम घरमा कोही नभएको अबस्थामा ४० वर्षीया आफ्नै श्रीमती दुर्गा लक्ष्मी शिवभक्तिको घोटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले श्रीमतीको हत्यापछि मानबहादुरले आत्महत्या प्रयाससमेत गरेको बताउनुभयो । मानबहादुरले श्रीमतीको हत्यापछि आत्महत्याको प्रयास गरेको डोरी चुडिएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरको सम्पर्कमा पुगेको मानबहादुरले प्रहरी समक्ष बताएका छन् । घटनाको बारेमा जानकारी दिन आएका मानबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मानबहादुरले श्रीमती प्यारालाईसिसको बिरामी रहेको र हिड्डुल गर्न नसक्ने अवस्थामा रहेकोले आफू तनावमा आएर श्रीमतीको घाँटी थिची हत्या गरेको प्रहरीसमक्ष बताएका छन् । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।




