सभापति देउवासहित भएको सहमतिपछि राजीनामा दिन मुख्यमन्त्री लामा हेटौँडा आउँदै

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन १८ गते । बागमती प्रदेशकामा मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले मुख्यमन्त्री पदबाट आज आइतबार राजीनामा दिनु हुनेभएको छ । बागमती प्रदेशकामा मुख्यमन्त्रीलाई लिएर नेपाली कांग्रेसमा उत्पन्न विवाद समाधान उन्मूख देखिएपछि लामाले राजीनामा दिनु हुने भएको हो ।
मुख्यमन्त्री लामा राजीनामा बुझाउन काठमाडौँबाट हिड्नुभएको मुख्यमन्त्री कार्यालयको सचिवालयले जनाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको उपस्थितिमा भएको छलफलमा शर्तसहितको सहमति बनेपछि लामा मुख्यमन्त्रीबाट राजीनामा दिन सहमत हुनुभएको हो ।
कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेतामा ईन्द्रबहादुर बानियाँ निर्वाचित भएपछि बानियाँ र बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाबिच मुख्यमन्त्रीको विषयमा विवाद उत्कर्षमा पुगेको थियो ।
नेता बानियाँले संसदीय दलको नेताको हैसियत गुमाएपछि राजीनामा दिनुपर्ने बताउनुभएको थियो भने मुख्यमन्त्री लामाले आफू गठबन्धनको सरकारको मुख्यमन्त्री भएकोले आफू संविधानको जुन व्यवस्थाबाट मुख्यमन्त्री बनेको त्यसका लागि संसदीय दलको नेता हुनु नपर्ने बताउँदै आउनुभएको थियो ।
बानियाँ र लामाबिचको विवाद सभापति देउवाको निर्देशनमा शक्ति बाँडफाँड गर्ने शर्तसहितको सहमतिपछि मुख्यमन्त्री लामा राजीनामा दिन सहमत हुनुभएको हो ।
कांग्रेस सभापति देउवाको उपस्थितिमा शनिबार काठमाडौँमा भएको छलफलमा लामासँगको सल्लाहमा मात्र बानियाँले सरकार चलाउने सहमति भएको उक्त छलफलमा सहभागी एक प्रदेश सभा सदस्यले बताए ।
मुख्यमन्त्री लामाले नियुक्त गरेको तीन मन्त्रीलाई आगामी मन्त्रीमण्डलमा सहभागी गराउनसमेत सभापति देउवाले बानियाँलाई निर्देशन दिनुभएको थियो ।
मुख्यमन्त्री लामाले आफूमाथि सुरुवातीको दिनदेखि असहयोग र षडयन्त्र भएको आरोप लगाउँदै आफूले नियुक्त गरेको मन्त्रीहरुको सम्मानजनक रुपमा आगामी सरकारमा नियुक्ति र सपथ गराउनुपर्ने शर्त राख्नुभएको थियो ।
मुख्यमन्त्री लामाले गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्रीमा नियुक्तसहित सपथ ग्रहणका लागि साउन १४ गते सिफारिश गर्नुभएको थियो ।
तर मुख्यमन्त्री लामाले नियुक्त गर्न सिफारिश गर्नुभएका मन्त्रीहरुको सपथ रोक्दै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सपथ ग्रहण कार्यक्रम साउन १५ गतेलाई सार्नुभएको थियो ।
सपथ गराउने दिन देवकोटा अस्वस्थ भएर बिहानै काठमाडौँ लागेपछि बिहीबार दिउँसोका लागि तय गरिएको नवनियुक्त मन्त्रीहरुको सपथग्रहण समारोह रोकिन पुगेको थियो । प्रदेश प्रमुख देवकोटाले सपथ राखेको भन्दै विपक्षी दलले उहाँप्रति संवैधानिक र नैतिक प्रश्न उठाएका थिए ।
मुख्यमन्त्री लामाको शर्त अनुसार यसअघि नियुक्त गरिएका मन्त्रीहरुलाई आगामी सरकारमा जिम्मेवारी दिने सहमति पार्टी सभापति देउवाको रोहवरमा भएको र बानियाँले प्रतिबद्धता जनाएको प्रदेश सभा सदस्य रामकृष्ण चित्रकारले जानकारी दिनुभयो । संसदीय दलमा समेत सम्मानजन उपस्थिति र सहभागिता रहने गरी बानियाँलाई सभापति देउवाले निर्देशन दिनुभएको नेता चित्रकारले बताउनुभयो । उहाँका अनुसार विगतमा आफ्नै नेतृत्वको सरकारप्रति गरिएको व्यवहारका बारेमा पनि छलफल गरिएको बताउनुभयो ।
मुख्यमन्त्री लामासँगको सहमतिमा सरकार सञ्चालन गर्न सभापति देउवाले निर्देशन दिनुभएको छ नेता चित्रकारले भन्नुभयो, सरकार सञ्चालनलगायतका सवालमा सशर्तसहित सहमति भएपछि लामा मुख्यमन्त्रीबाट राजीनामा दिन सहमत हुनुभएको छ, आइतबार राजीनामा दिने सल्लाह भएको छ ।
संसदीय दलको नेतामा पराजित भएपछि लामामाथि राजीनामा दिन दवाव सिर्जना गरिएको थियो । तर मुख्यमन्त्री लामाले आफू नेतृत्वको सरकार संविधानको धारा १६८(२) अनुसार बनेकोले संसदीय दलको नेतामा पराजित भएपनि सरकारबाट राजीनामा दिन नपर्ने उहाँको दावी थियो । संविधानको धारा १६८(२) दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाउने प्रदेश सभा सदस्य मुख्यमन्त्रीमा नियुक्त हुने व्यवस्था रहेको छ ।
उता संसदीय दलको नेता भएपछि बानियाँले लामालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गर्दै आउनुभएको छ । संसदीय दलको नेता भएरै लामा मुख्यमन्त्री बनेकोले संसदीय दलको हैसियत गुमाएपछि स्वतः राजीनामा दिनुपर्ने जिकिर बानियाँको रहेको थियो ।
एकल बहुमतको सरकारमा संसदीय दलको नेताको नेतृत्वमा जाने हो, संविधानको धारा १६८(२) संसदीय दलको नेतालाई नचिन्ने भन्दै संविधानभन्दा माथि कोही नहुने मुख्यमन्त्री लामाको तर्क छ ।
मुख्यमन्त्रीका विषयमा लामा र बानियाँबिच विवाद बढ्दै गएपछि कांग्रेस सभापति यसअघि बिहीबार मुख्यमन्त्री लामालाई काठमाडौँमा बोलाएर विवाद नलम्ब्याउन र छिटो समाधान गर्न भन्नुभएको थियो । सभापति देउवाले सहमतिमा समस्या समाधान गर्न भनेपछि मुख्यमन्त्री लामाले आफूपक्षका प्रदेश सभा सदस्यहरुसँग छलफल गर्ने भन्दै सशर्तसहित राजीनामा दिने बताउनुभएको हो ।
बिहीबार मुख्यमन्त्री र सभापति देउवाको भेटपछि लामा पक्षधर प्रदेश सभा सदस्यहरुले आफूहरुले पनि सभापति देउवालाई भेट गर्नुपर्ने र अहिलेसम्म गरिएका गुटबन्दीदेखि व्यवहार र त्यसबाट उत्पन्न समस्याका बारे अवगत गराउने बताएपछि उनीहरु सभापति देउवासँग छलफल गर्न शनिबार पुगेका हुन् ।
सभापति देउवाले पार्टीभित्र मुख्यमन्त्रीलाई लिएर अन्तर संघर्ष बढ्दै गएपछि लामा र बानियाँ पक्षलाई राखेर बागमती प्रदेशमा उत्पन्न विवाद समाधानका लागि सहमति गराउनुभएको हो ।
मुख्यमन्त्री लामा निकट एक प्रदेश सभा सदस्य भने ‘सभापति देउवाको रोहवरमा सहमति भएको छ, पालना र कार्यान्वयन कसरी हुन्छ हेर्नु छ, कार्यान्वयन नभए पुनः समस्या आउन सक्छ ।
मुख्यमन्त्री लामाको राजीनामापछि मात्र संसदीय दलका नेता बानियाँको नेतृत्वमा नयाँ सरकार बनाउने बाटो खुल्ने छ ।
लामा र बानियाँ दुवै सभापति देउवा पक्षधर हुन् ।
बागमती प्रदेशमा सरकार बनाउन ५६ जना प्रदेश सभा सदस्य आवश्यक हुन्छ । कांग्रेससँग ३७ प्रदेश सभा सदस्य छन् ।
३७ प्रदेश सभा सदस्यमा पनि लामा र बानियाँको पक्षमा विभाजित भएका छन् ।

ताजा समाचार

Related Articles