खासकुरा संवाददाता
हेटौँडा, साउन १८ गते । बागमती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा घोषणा गर्नुभएका बहादुर सिंह लामा तामाङले आफूले गरेको मन्त्रीपरिषद् विस्तारको निर्णय रोक्न प्रपञ्च गरिएको बताउनुभएको छ ।
लामाले आइतबार मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गर्दै मन्त्रीपरिषद् विस्तारमा प्रपञ्च गरिएको बताउनुभएको हो ।
उहाँले मन्त्रीपरिषद् विस्तारको निर्णय समेत अवरुद्ध बनाउने काम भएको बताउनुभयो ।
लामाले मुख्यमन्त्रीको हैसियतमा साउन १४ गते मन्त्री नियुक्तिसँगै मन्त्रीपरिषद् विस्तार गर्न गरेको सिफारिश अनुसार मन्त्रीको नियुक्ति भएपनि सोही दिननै सपथ ग्रहण नगराएका कारण प्रदेश प्रमुखप्रति नैतिक प्रश्न उठेको लामा पक्षका प्रदेश सभा सदस्यहरुको तर्क छ ।
संवैधानिक परम्पराको इतिहासले प्रमाणित गरेका सिद्धान्तहरु प्रति म सचेत रहनुपर्ने अवस्था विद्यमान थियो लामाले पत्रकार सम्मेलनमा भन्नुभयो, यस सन्दर्भमा मैले गरेको मन्त्रीपरिषद् विस्तारको निर्णय समेत अवरुद्ध बनाउने काम भएको छ ।
उहाँले अगाडि भन्नुभयो, यस्ता प्रपञ्चले इतिहासमा कस्तो प्रभाव पार्छ पत्रकार मित्रहरुले सुक्ष्म निगरानी गर्नुहुन्छ भन्ने विश्वास लिएको छु ।
मुख्यमन्त्रीको सिफारिशमा मन्त्रीमण्डल विस्तार गर्न सिफारिशपछि मन्त्री नियुक्ति भएकालाई बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले साउन १४ गते सपथ रोकेपछि लामा पक्षका प्रदेश सभाका सदस्यहरु असन्तुष्ट बनेका थिए ।
उता नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकाल मुख्यमन्त्रीको सिफारिश अनुसार प्रदेश प्रमुख देवकोटाले मन्त्रीहरुको नियुक्ति गरेरपनि सोही दिननै सपथ ग्रहण नगराएका कारण उहाँमाथि नैतिक प्रश्न उठेको बताउनुहुन्छ ।
प्रदेश सभामा बहुमत स्थापित रहेको अवस्थामा मुख्यमन्त्रीको सिफारिश अनुसार तत्काल सपथ नगराउनु गलत परम्पराको थालनी हो, संविधानको पालना गर्नु प्रदेश प्रमुखको पनि दायित्व हो उहाँले भन्नुभयो, प्रदेश प्रमुख कुनै पनि दलको होइन, दलीय रङ्ग देखिनु हुँदै, कुनै दलले भन्यो भन्दैमा मुख्यमन्त्रीले गरेको सिफारिश नै रोक्नै पाइँदैन ।
नेपाली कांग्रेसभित्र भएको अन्तरसंघर्षपछि अन्तत लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ ।
तर लामाले मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गर्दै गर्दा बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाप्रति नैतिक र संवैधानिक प्रश्न उठेको छ ।
प्रदेश प्रमुख देवकोटाले लामाको सिफारिशमा मन्त्री नियुक्ति गर्नुभए पनि सपथ ग्रहण नगराएपछि उहाँमाथि नैतिक र संवैधानिक प्रश्न गठेको हो ।
संविधानमा मुख्यमन्त्रीको सिफारिशमा प्रदेश प्रमुखले मन्त्री नियुक्ति र पद तथा गोपनियताको सपथ ग्रहण गराउनुपर्ने व्यवस्था रहेको छ ।
लामाले गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्रीमा नियुक्तसहित सपथ ग्रहणका लागि साउन १४ गते बिहान सिफारिश गर्नुभएको थियो ।
प्रदेश प्रमुखको कार्यालयले १४ गते नै १५ गते दिउँसो सपथ ग्रहण गराउने समय तोक्दै विज्ञप्ति जारी गरेको थियो ।
तर सपथ गराउने दिन देवकोटा अस्वस्थ भएर बिहानै काठमाडौँ लागेपछि बिहीबार दिउँसोका लागि तय गरिएको नवनियुक्त मन्त्रीहरुको सपथग्रहण समारोह रोकिन पुगेको थियो । प्रदेश प्रमुख देवकोटाले सपथ राखेको भन्दै विपक्षी दलले उहाँप्रति संवैधानिक र नैतिक प्रश्न उठाएका थिए ।
बिहीबार काठमाडौँमा अस्पताल भर्ना हुनुभएका प्रदेश प्रमुख उपचारपछि आइतबार डिस्चार्ज हुनुभएको छ । सोमबार नै हेटौँडा आउने तयारी गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
मुत्रप्रणालीमा समस्या देखिएपछि १५ साउनमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासी काठमाडौँमा उपचारका लागि भर्ना हुनुभएको उहाँको सचिवालयको भनाई छ ।
लामा पक्षका एक प्रदेश सभा सदस्यले सपथग्रहण रोक्ने प्रदेश प्रमुख विरुद्ध अदालत जाने तयारी आफूहरुले गरेको भन्दै पार्टीभित्र सभापति शेरबहादुर देउवाको उपस्थितिमा भएको सहमतिपछि मुख्यमन्त्री पदबाट राजीनामा दिन सहमत भएसँगै अदालत जाने निर्णयबाट पछाडि हटेको बताए ।
साउन १५ गते त उहाँ बिरामी पर्नु भयो यो मानवियताको कुरा पनि हो तर १४ गते कोही कसैले भनेको भन्दैमा कुनै पनि बहानाबाजी बनाएर रोक्नु र समय सार्नु हुँदैन थियो यसै कारणपनि प्रदेश प्रमुखमाथि नैतिक प्रश्न खडा भएको हो ती प्रदेश सभा सदस्यले बताए ।




