खासकुरा संवाददाता
हेटौँडा, साउन १८ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले आइतबार मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ ।
आइतबार हेटौँडामा पत्रकार सम्मेलन आयोजना गरी मुख्यमन्त्री लामाले राजीनामा घोषणा गर्नुभएको हो ।
नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा कांग्रेसबाट नेतृत्व गर्दै लामा मुख्यमन्त्री पदमा नियुक्त हुनुभएको थियो ।
गत वर्ष साउन ९ गते मुख्यमन्त्री पदको सपथ लिनुभएका लामा ३७४ दिन मुख्यमन्त्री पदमा रहेर काम गर्नुभएको थियो ।
पत्रकार सम्मेलनमा मुख्यमन्त्री लामाले आफ्नो नेतृत्वको सरकारलेबाट बागमती प्रदेशमा प्रणाली स्थापना गर्न र सुशासन कायम गर्न सफल भएको भन्दै पदमा रहुन्जेल इमानदारीपूर्वक काम गरेको बताउनुभयो ।
मुख्यमन्त्री लामाको तर्फबाट राजीनामा सोमबार प्रदेश प्रमुखको कार्यालयमा बुझाइनेभएको छ ।
कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा पराजित भएपछि मुख्यमन्त्री लामामाथि मुख्यमन्त्री पदबाट राजीनामा दिन दवाव परेको थियो ।
मुख्यमन्त्री लामा ईन्द्रबहादुर बानियाँसँग संसदीय दलको नेतामा पराजित हुनुभएको थियो । लामाले आफू संविधानको संविधानको धारा १६८(२) अनुसार बनेकोले संसदीय दलको नेतामा पराजित भएपनि सरकारबाट राजीनामा दिन नपर्ने बताउँदै आउनुभएको थियो । संविधानको धारा १६८(२) दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाउने प्रदेश सभा सदस्य मुख्यमन्त्रीमा नियुक्त हुने व्यवस्था रहेको छ । उता संसदीय दलका नेता बानियाँले संसदीय दलको नेताको हैसियत गुमाइसकेकोले मुख्यमन्त्री लामालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गर्नुभएको थियो ।




