काठमाडौँ, साउन २९ गते । प्रतिनिधि सभाको आजको बैठकमा कारागारको सुधार, भ्रष्टाचार न्यूनीकरण, किसानका समस्या समाधानलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसदहरूले देशका विभिन्न भागमा बाढी पहिरोका कारण खानेपानी, सडक यातायात, फोहोर व्यवस्थापन लगायतका क्षेत्रमा पुगेको क्षतिका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । नेपाली काँग्रेसका नेता एनपी साउदले नेपालका कारागारहरूमा क्षमताभन्दा बढी कैदी राख्ने गर्दा जोखिम बढाएको बताउनुभयो । नेपालमा रहेका ७५ वटा जेलहरूमा २८ हजार बढी कैदीहरू रहेको मध्ये धेरैजसो जेलहरू क्षमताभन्दा बढी दोब्बर बढी कैदी राखेर सञ्चालन भइरहँदा भिडभाड, स्वास्थ्य जोखिम,हिंसात्मक घटना र मानवअधिकार उल्लङ्घनको समस्या निम्त्याएको बताउनुभयो ।

नेकपा एमालेका सचेतक सुनिता बरालले सदनमा प्रधानमन्त्री र मन्त्रीले दिएका जवाफमा प्रतिप्रश्न गर्ने गरिएको भन्दै प्रतिपक्ष दलले लोकप्रियतावाद, अतिवाद, शङ्का र घृणाका विषय मात्र उत्खनन गर्ने गरेको आरोप लगाउनुभयो । सचेतक बरालले कानुन निर्माण र विकास निर्माणका सवालमा पक्ष प्रतिपक्ष भएर मात्र समृद्ध नेपालको कल्पना पुरा हुन नसक्ने भन्दै साझा सवालमा सबै एकीकृत हुनुपर्ने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्रीले संसदमा पेस गरेको तथ्यांकजस्तो देशको अर्थतन्त्र, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सकारात्मक सुधार हुन नसकेको बताउनुभयो । सांसद पुनले आर्थिक वृद्धि केही सकारात्मक भएपनि अर्थतन्त्रका वास्तविक सूचकहरू सुधार नभएको, वाणिज्य बैङ्कहरू ब्याजदर घटिरहेको, बैङ्कमा लगानी योग्य अर्वौ रकम थुप्रिएर रहेको अवस्थामा पनि उद्योगी व्यवसायी ऋण लिएर लगानी गर्न तयार हुन नसकेको बताउनुभयो ।

सांसद शेरबहादुर कुवरले नेपालमा हवाई दुर्घटना सम्बन्धी कानुन नहुँदा एक वर्ष अगाडी काठमाडौँमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको विषयमा अध्ययन गर्न बनेको आयोगको प्रतिवेदन अनुसार दोषीलाई कारबाही गर्ने समस्या देखिएको बताउनुभयो । उहाँले विश्वमा ९९ प्रतिशत सुरक्षित हुने गरेको हवाई यात्रा नेपालमा सुरक्षित हुन नसकेको विषयमा प्रश्न गर्दै बारम्बार भइरहेको हवाई दुर्घटनाका विषयमा गहिरो अनुसन्धान हुन आवश्यक रहेको औँल्याउनुभयो । सांसदहरूले संविधान र मौलिक हकमा सुनिश्चित गरिएका निःशुल्क शिक्षा, स्वास्थ्य लगायतका विषयमा कार्यान्वयन गरी जनताको जीवनस्तर परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसदहरूले वर्षाका कारण बाढी, पहिरोले विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा नागरिकले दैनिक जनजीवनमा खेप्नुपरेको सास्ती कम गर्न अल्पकालीन र दीर्घकालीन समस्या समाधानका लागि सरकारसँग माग गर्नुभयो । सांसदहरूले सुक्खाग्रस्त भई सङ्कटग्रस्त क्षेत्र घोषणा भएको मधेश प्रदेशमा पछिल्लो समय पानी पर्न थालेपछि पनि मलको अभावमा धान रोप्न नपाउँदा किसानहरू मारमा परेको बताउनुभयो । पछिल्लो समय पानी परेसँगै मधेश प्रदेशमा बाढी र डुबानको समस्या परेको भन्दै समयमा नै सुरक्षाका लागि पूर्वतयारकी गर्न सांसदहरूले सरकारसँग माग गर्नुभयो । सांसदहरूले भारतको उत्तराखण्डमा गएको बाढीमा परी बेपत्ता भएका नेपाली नागरिकहरूको खोजी, उद्धार र राहतका विषयमा सरकारको धारणा माग गर्नुभयो । यसैबिच, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।




