खासकुरा संवाददाता
हेटौँडा, साउन ३० गते । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको बागमती प्रदेश सरकारमा कांग्रेसबाट पाँच जना मन्त्री थपिएका छन् ।
कांग्रेसको भागमा परेका मन्त्रालयमा शुक्रबार मन्त्रीको नियुक्ति र कार्यविभाजनसँगै प्रदेश सरकारले एक सातापछि पूर्णता पाएको हो ।
मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको सिफारिशमा यसअघि साउन २० गते पहिलो चरणमा एक जना बिनाविभागीयसहित आठ जना मन्त्री नियुक्त गरिएको थियो ।
प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री बानियाँको सिफारिशमा मन्त्रीपरिषद् पुनर्गठन, विस्तार एवं कार्यविभाजन गर्नुभएको हो ।
कांग्रेसबाट मन्त्रीमा नियुक्त हुनेमा उर्मिला नेपाल, कन्चनचन्द्र बादे, प्रभात तामाङ, सुरेश श्रेष्ठ र विनु रायमाझी पौडेल रहनुभएको छ । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रदेश देवकोटाले मुख्यमन्त्री बानियाँको उपस्थितिमा प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा मन्त्री पदको पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो ।
मन्त्रीहरु नेपालले युवा तथा खेलकुद मन्त्रालय, बादेले सामाजिक विकास मन्त्रालय, तामाङले आर्थिक मामिला तथा योजना मन्त्रालय, श्रेष्ठले संस्कृति तथा पर्यटन मन्त्रालय र पौडेलले सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
यसअघि बिना विभागीय मन्त्रीमा नियुक्त शिवराज अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
कांग्रेसको भागमा मुख्यमन्त्री कार्यालयसहित आठ मन्त्रालय र एमालेको भागमा छ वटा मन्त्रालय परेकोमा एमालेको भागमा परेका मन्त्रालयहरुमा साउन २० गते नै मन्त्री नियुक्त गरिएको थियो ।
यसअघि कांग्रेसबाट मन्त्री बन्नुभएका कृष्णकुमार तामाङले खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो ।
यस्तै एमालेबाट मन्त्री बन्नुभएका मधुसूदन पौडेलले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, जयराम थापाले श्रम, रोजगार तथा यातायात मन्त्रालय, भरतबहादुर केसीले वन तथा वातावरण मन्त्रालय, डा. दिनेशचन्द्र देवकोटाले भौतिक पूर्वाधार विकास मन्त्रालय र विन्दु श्रेष्ठले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो ।




