खासकुरा संवाददाता
हेटौँडा, साउन ३० गते । जिल्ला प्रहरी परिसर, काठमाडौँले काठमाडौँको टोखा नगरपालिका वडा नं. ९ स्थित होटलको कोठाबाट एक जनालाई बन्दुकसहित पक्राउ गरेको छ ।
धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. १६ चमतीमा डेरा गरी बस्ने शिवराज दराइलाई शुक्रबार पक्राउ गरिएको हो । निजको कोठामा जाँच तथा खानतलासी गर्दा लुकाइ राखेको अवस्थामा अटोमेटिक पेस्तोल एक थान, उक्त पेस्तोलमा लाग्ने म्याग्जिन दुई थान र ७.६५ एमएमको गोली सात राउण्ड बरामद गरिएको प्रहरीले जनाएको छ ।
दराइलाई पक्राउ गरी हातहतियार खरखजाना सम्बन्धी मुद्दामा प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिनुभयो ।
साथै प्रहरीका अनुसार निज दराइ विरुद्ध प्रहरी वृत्त कीर्तिपुरबाट २०७८ असोज १८ गते अभद्र मुद्दा र २०८० कात्तिक १९ गते लागु औषध मुद्दा समेत चलेको देखिएको छ ।




