जनकपुरधाम, साउन ३० गते। प्रधानमन्त्री के पी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई पुरा गर्नका लागि सुशासन पहिलो शर्त भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले मधेश प्रदेश सरकारको आर्थिक लगानीमा निर्माण भएको मधेश प्रदेश प्रहरीको नव निर्मित प्रशासनिक भवनको आज जनकपुरधाममा उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो ।

उहाँले मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा अपराध नियन्त्रणको क्षेत्रमा नेपाल प्रहरीको भूमिका महत्व पूर्ण भएको बताउँदै सीमा क्षेत्रबाट हुने सबै प्रकारको अवैध क्रियाकलापमा कडाइका साथ प्रस्तुत हुनका लागि सबै तहका प्रहरीलाई निर्देशन दिनु भयो । प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्धिको यात्रामा लानका लागि शान्ति सुरक्षा महत्वपूर्ण शर्त भएको बताउँदै शान्ति सुरक्षा, सुशासन, लागु पदार्थको नियन्त्रण घटनामा निष्पक्ष रुपमा काम गर्नका लागि पनि निर्देशन दिनु भयो । उहाँले मधेशमा निर्दोषलाई फसाउने तथा दोषी जोगाउने जस्ता गुनासाहरू आउने गरेको बताउँदै यस्तो काम नगर्नका लागि सबै दर्जाका प्रहरीहरूलाई निर्देशन दिँदै मुलुकको राजश्व वृद्धिका लागि सीमाबाट हुने तस्करी नियन्त्रणमा कडाई गर्नका लागि निर्देशन दिनु भयो ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले संविधानको भावना तथा मधेश प्रदेश सरकारको मौजुदा गतिलाई अझ बढी प्रभावकारी बनाउनका लागि प्रहरी समायोजन शीघ्र रुपमा गरिदिनका लागि संघ सरकार तथा प्रधानमन्त्रीसँग आग्रह गर्नु भयो । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दिपक थापाले समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्प पुरा गर्नका लागि शान्ति सुरक्षा, सुशासन तथा अपराध नियन्त्रणमा नेपाल प्रहरी सक्रियतापूर्वक लागे र अझै कडाइका साथ लागी रहने प्रतिबद्धता प्रकट गर्नु भयो ।




