लम्पी स्किन रोगविरुद्धको खोप सुरु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ २ गते । बागमती प्रदेश सरकारले लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि बागमती प्रदेशभर एक साथ खोप अभियान सुरु गरेको छ ।
प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतबारबाट सुरुभएको लम्पी स्किन रोग विरुद्धको खोप अभियान एक साता चल्ने जनाएको छ ।
अभियानको ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–१ मा प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले आइतबार एक कार्यक्रमका बिच पशु चिकित्सकलाई लम्पी स्किन रोग विरुद्धको खोप हस्तान्तरण गरेर खोप अभियानको शुभारम्भ गर्नुभयो । यस वर्षको अभियानअन्तर्गत प्रदेशका १३ वटै जिल्लाका एक लाख २० हजार पशुलाई खोप लगाइने लक्ष्य राखिएको मन्त्रालयका प्रवक्ता सुजन कंडेलले जानकारी दिनुभयो ।
चितवनमा ३० हजार, मकवानपुरमा २५ हजार, काभ्रेपलान्चोकमा १४ हजार, नुवाकोट र सिन्धुलीमा १२–१२ हजार, धादिङमा ११ हजार, ललितपुरमा १० हजार र दोलखामा छ हजार डोज म्पी स्किन रोग विरुद्धको खोप पठाइएको छ । खोपको व्यवस्था सङ्घीय सरकारले र जनशक्ति एवं खोप लगाउने खर्च बागमती प्रदेश सरकारले बेहोर्ने भएको छ ।

गत असार र साउन महिनामा मात्रै लम्पी स्किन रोगबाट यस प्रदेशमा ७४ पशु चौपायाको मृत्यु र एक हजार ६३३ पशुमा यो रोग सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। विशेष गरी यो रोग मकवानपुर, सिन्धुली, काभ्रेपलान्चोक र सिन्धुपाल्चोकमा बढी सङ्ख्यामा सङ्क्रमण भएको पाइएको छ ।
यो रोग लागेपछि पशुको दूध उत्पादन २५ देखि ६५ प्रतिशतसम्म घट्ने अध्ययनले देखाएको छ । मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा ७१ हजार ९७७ पशुलाई र आव २०८०/८१ मा ४८ हजार ३६४ पशुलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको थियो ।

ताजा समाचार

Related Articles