खासकुरा संवाददाता
हेटौँडा, भदौ १ गते । मकवानपुर उद्योग वाणिज्य संघ अन्तर्गत रहेको कृषि प्रवर्द्धन समितिले हेटौँडा उपमहानगरपालिका १३, पदमपोखरीस्थित कृषि फार्मको अवलोकन भ्रमण गरेको छ । पदमपोखरीमा ड्रागन फ्रुट (सिउँडी फल), मेवा, बाख्रापालनलगायतको कृषिजन्य उत्पादन तथा पशुपालन गर्दै आएको एम एन एस एग्रो प्रालिको आइतबार अवलोकन भ्रमण गरिएको हो ।
एक बिगाह क्षेत्रफलमा संचालित फार्मका संचालक फेन्चु लामाले ड्रागन फ्रुट एक पटक लगाएपछि १५ वर्षसम्म उत्पादन लिन सकिने र एक वर्षभित्रमा पटक–पटक उत्पादन हुने जानकारी दिनुभयो । कृषि प्रवर्द्धन समितिको सदस्यसमेत रहनुभएका लामाले बजार दर स्थिर भएमा ड्रागन फ्रुट आयआर्जनको लागि उपयुक्त स्रोत बन्ने प्रष्ट पार्नुभयो ।
ड्रागन फ्रुटको विरुवालाई नियमित स्याहार गर्नुपर्ने हुन्छ उहाँले भन्नुभयो, यो फललाई केही दिनसम्म सुरक्षित राख्न दुई कोठे कोल्ड चेम्बर बनाइएको छ ।
उहाँले ८० वटा बाख्राको लागि आधुनिक खोर निर्माण गरी बाख्रापालन गर्दै आउनुभएको छ । हेटौँडा पाँचका वर्षको लागि उपलब्ध गराएको कृषि एम्बुलेन्स कार्यविधि बनाएर समितिमार्फत सञ्चालन गरिएको उहाँको भनाई छ ।
संघको कृषि प्रवर्द्धन समितिका संयोजक निलम कुमारी पाण्डेको नेतृत्वमा फार्मको अवलोकन भ्रमण तथा बैठक फार्म परिसरमा नै समितिको बैठक बसेको हो ।
