निर्माणको काममा ठेक्कामा घटाघट गर्ने प्रवृत्तिले समस्या ल्यायोः मुख्यमन्त्री बानियाँ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ९ गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले ठेक्कामा घटाघट गर्ने बढ्दो प्रवृत्तिले व्यवसायी कंगाल हुने अवस्था आएको बताउनुभएको छ ।
निर्माण व्यवसायी संघ मकवानपुरले बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुको स्वागत तथा सम्मानमा सोमबार हेटौँडामा आयोजित कार्यक्रममा उहाँले निर्माण व्यवसायीलाई आफूले जिम्मा लिएको काम समयमा खरिद ऐन, नियमावलीमा रहेर गर्न आग्रह गर्नुभयो ।
उहाँले निर्माण व्यवसायीलाई मोविलाइजेसन चाहिएको छ, मोविलाइजेसनका लागि जति पनि घटेर ठेक्का हाल्ने प्रचलन बढेको भन्दै निर्माणको काममा ठेक्कामा घटाघट गर्ने प्रवृत्तिले समस्या ल्यायो, यसले व्यवसायीसँगै सरकारलाई पनि समस्या सिर्जना गरेको बताउनुभयो ।
ठेक्का धेरैले कममा गएर हाल्ने र काम नगर्ने प्रवृत्ति अन्त्य गर्न सार्वजनिक खरिद ऐन संशोधन आवश्यक छ उहाँले भन्नुभयो, १० लाख रुपियाँभन्दा बढीको भौतिक पूर्वाधार निर्माणको काम टेण्डर प्रक्रियाबाट गर्ने गरी प्रदेश सरकारले तयारी थालेको छ ।
उहाँले अगाडि भन्नुभयो, अब निर्माण व्यवसायीलाई कामको खाँचो हुँदैन । १० लाख रुपियाँभन्दा बढीको काम अब उपभोक्ता समितिले गर्ने छैन, कामका लागि तयार भएर बस्नुहोस् ।
उहाँले निर्माण व्यवसायीलाई आफै सम्मनित हुने अवस्था ल्याउन भन्दै जिम्मा लिएको काम समयमा गुणस्तरीय रुपमा सम्पन्न गरेमा निर्माण व्यवसायीलाई प्रदेश सरकारले र सबैले सम्मान गर्ने बताउनुभयो ।
निर्माण व्यवसायीलाई आफूले जिम्मा लिएको काम समयमा खरिद ऐन, नियमावलीमा रहेर गर्न आग्रह गर्नुभयो ।
मुख्यमन्त्री बानियाँले भन्नुभयो, मोवाइलाइजेसन लिएर भाग्ने होइन काममा जाने हो, निर्माण व्यवसायीले सम्मानित हुने गरी काम गर्नु प¥यो प्रदेश सरकार सम्मान गर्न तयार छ ।
प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलले निर्माण व्यवसायीले आफूले जिम्मा पाएको निर्माणको काम समयमा सम्पन्न र पेशागत मर्यादा पालना गर्दै काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा संघका अध्यक्ष बालगोपाल कंडेलले सम्पन्न भएका कामको समयमा भुक्तानी नपाउने, खरिद नियमावलीलगायत निर्माण व्यवसायीहरुका समस्याहरुका बारेमा जानकारी गराउँदै निर्माण उद्योगमैत्री ऐन कानुन निर्माणका लागि माग गर्नुभयो ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष खड्ग गोपाली र वरिष्ट उपाध्यक्ष सागर कटुवालले निर्माण व्यवसायीका समस्या समाधान गर्न माग गर्नुभयो । कार्यक्रममा खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्री कृष्णकुमार तामाङ र सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेललगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles