मानव अङ्ग किड्नी कारोवारमा संलग्न मुख्य नाईकेसहित दुई जना पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ १६ गते । मानव अङ्ग मृगौला (किड्नी) कारोवारको अवैध सञ्जाल खडा गर्ने मुख्य नाइकेसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्यूरोले मुख्य नाईके श्याम कृष्ण भण्डारी र सुजन भारतीलाई पक्राउ गरेको हो ।
संगठितरुपमा नेपालका विभिन्न जिल्लाहरुबाट मानिसलाई प्रलोभनमा पारी भारतको नयाँ दिल्लीमा अवैध रुपमा किड्नी झिक्ने कार्यमा संलग्न भएको अभियोगमा सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नं. ७ का ३८ वर्षीय भण्डारी र सिन्धुपाल्चोककै ईन्द्रावती गाउँपालिका वडा नं. २ का २९ वर्षीय भारती पक्राउ गरेको ब्यूरोले जनाएको छ ।
नेपालबाट मानव तस्करहरुले संगठित रुपमा नेपालका विभिन्न जिल्लाहरुबाट मानिसलाई प्रलोभनमा पारी भारतको नयाँ दिल्लीमा लगि अवैध रुपमा किड्नी झिकी बेचबिखन गरिरहेको समाचार सार्वजनिक भएपछि पीडित व्यक्तिहरुलाई कार्यालयमा झिकाई ब्यूरोले अनुसन्धान सुरु गरेको थियो ।
चालु आर्थिक वर्षमा मानव बेचबिखन अनुसन्धान ब्यूरोमा चार वटा मुद्दा दर्ता भई काठमाडौँ जिल्ला अदालतबाट म्याद लिई “संगठित रुपमा कानुन विपरीत मानव अङ्ग मृगौला झिकी मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुर”मा अनुसन्धान भईरहेको ब्यूरोद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । हालसम्म पाँच जना पीडितले ब्यूरोमा जाहेरी दिएका छन् ।
अप्रेसन लाइफ शिल्ड नाममा सञ्चालन गरेको विशेष कारवाहीमा अवैध रुपमा मानव अंग झिक्ने र बेचविखन गर्ने गिरोहका सदस्यहरु तीन जनालाई मानव वेचबिखन तथा अनुसन्धान ब्यूरोले काठमाडौँ, नुवाकोट र काभ्रेपलाञ्चोक जिल्लाबाट नियन्त्रणमा लिएको थियो । राकेश नेपाली, समीर नेपाली र कुमार भन्ने राज कुमार नेपालीलगायतलाई गत साउन २० गते नियन्त्रणमा लिएको हो ।
जाहेरवाला तथा पीडितहरुले दिएको सूचना र पक्राउ परेकाहरुले दिएको बयानका आधारमा विशेषगरी भारतको राजधानी नयाँ दिल्लीको लाजपत नगरमा बसी अवैध मानव अङ्ग मृगौला (किड्नी) कारोवारको अवैध सञ्जाल खडा गर्ने मुख्य नाईकेमा श्याम कृष्ण भण्डारी भएको पाइएको छ ।
निज श्याम कृष्ण भण्डारी समूहको सुक्ष्म अनुसन्धान तथा खोजीकार्य गर्ने क्रममा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले कञ्चनपुर प्रहरीको सहयोगमा भारतबाट नेपालतर्फ आउँदै गरेको सूचनाका आधारमा भण्डारीलाई कञ्चनपुर जिल्लाको गड्डा चौकी सीमानाका र निजका सहयोगी सुजन भारतीलाई पर्सा प्रहरीको सहयोमा वीरगञ्जस्थित सीमा नाकाबाट नेपाल प्रवेश गरिरहेको अवस्थामा पक्राउ गरेको ब्यूरोले जनाएको छ ।

ताजा समाचार

Related Articles