बारा, भदौ २३ गते ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा अन्तर्राष्ट्रिय मन्जुदेवी तेस्रो भेट्रान कप फुटबल प्रतियोगिता असोज सात गते सुरु हुने भएको छ ।
असोज ७ देखि १३ असोजसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र अन्तर्राष्ट्रिय लगायत १२ वटा विभिन्न सहरका भेट्रान क्लब सहभागी हुने आयोजकले जनाएको छ ।
भारतको दार्जिलिङ, कलकत्ता र बङ्गलादेश भेट्रान्स फुटबल क्लब सहभागी हुने सिमरा भेट्रान क्लबका संयोजक हरि चौधरीले शनिबार सिमरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
नेपालको चितवन, पर्सा, बारा, काठमाडौँ, पोखरा, नवलपरासी, सिमरा भेट्रान क्लब सिमरा, विराटनगर लगायतका भेट्रान टिमको प्रतियोगितामा सहभागिता रहने छ । देश विदेशका गरी १२ वटा टिमले खेल्ने चौधरीले जानकारी दिए ।
अन्तर्राष्ट्रिय भेट्रान प्रतियोगिताको नियम र मापदण्ड अनुसार एक टिममा गोलकिपर सहित ८ जना खेलाडीलाई सहभागी गराइने छ । प्रतियोगितामा पहिलो हुने टिमले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । दोस्रो हुनेले १ लाख रुपैयाँ उत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ र विभिन्न विधामा खेलाडीलाई पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।
सिमरा रङ्गशालामा हुने प्रतियोगितामा अनुमानित २४ लाख ३९ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । भेट्रान फुटबल प्रतियोगितामा ४० वर्ष भन्दा माथिका खेलाडीहरू खेल्ने आयोजकले जनाएको छ ।