चार करोडभन्दा बढी नगद, नौ किलो सुन, तीन किलो चाँदीसहित एक जना नियन्त्रणमा

लोकप्रिय

खासकुरा संवाददाता
काठमाडौँ, भदौ १८ गते । काठमाडौँ महानगरपालिका–२६, सामाखुसीस्थित घरबाट चार करोडभन्दा बढी रकम र सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा जिल्ला गोरखा नगरपालिका ६ घर भई हाल काठमाडौँ महानगरपालिका–२६ बस्ने ७७ वर्षीय विनोदकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “करिब चार करोडभन्दा बढी रकम र ठुलो परिमाणमा सुनचाँदी जस्तो देखिने धातुका गहना पनि भेटिएका छन्। ”
चार करोड २५ लाख ५० हजार नगद, नौ हजार ५४१.३६ ग्राम सुनका गरगहना र तीन हजार २१८.९२ ग्राम चाँदी गरगहना बरामद गरिएको छ । उक्त रकमको सङ्ख्या यकिन गर्न मेसिन लगाएर गन्ने कार्य गरिएको थियो ।
मंगलबार दिउँसो उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त महाराजगञ्जको संयुक्त टोलीले अवैध रकम लुकाइएको सूचनाका आधारमा श्रेष्ठको घरमा खानतलासी गरेको थियो ।

यस्तै प्रहरीले काठमाडौँ महानगरपालिका १६ नयाँ बजारस्थित सनम खड्कीको घरमा विनोदकुमार श्रेष्ठका छोरा राजकुमार श्रेष्ठले भाडामा लिएको कोठाहरुबाट नगदसहित सुनका गहना बरामद गरेको छ ।
मंगलबार राति राजकुमार श्रेष्ठले भाडामा लिएको कोठामा खानतलासी गर्दा ९० हजार पाँच सय नगद, सुनको छड्के तिलहरी पाँच थान, नौ गेडी भएको पाते एक थान, बेरुवा औँठी पाँच थान र लकेट एक थान बरामद गरेको प्रहरीको भनाई छ ।
प्रहरीले दुवै स्थानबाट गरी चार करोड २६ लाख २५ हजार पाँच नगद, नौ किलोग्राम बढी सुन र तीन किलोग्रम बढी चाँदीका गरगहनाहरु बरामद गरेको छ ।
प्रहरीका अनुसार विनोदकुमार श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ ।

ताजा समाचार

Related Articles