खासकुरा संवाददाता
हेटौँडा, भदौ १८ गते । बागमती प्रदेशमा लम्पी स्किन रोग विरुद्धको खोप लक्ष्यभन्दा कम लगाइएको पाइएको छ । बागमती प्रदेश सरकारले लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि सुरु गरेको अभियान अन्तर्गत सरकारले लिएको लक्ष्यभन्दा कम खोप लगाएको पाइएको छ ।
प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बागमती प्रदेशभर एक साथ साताव्यापी रुपमा खोप अभियान सुरु गरेको थियो ।
यस वर्षको अभियानअन्तर्गत प्रदेशका १३ वटै जिल्लाका एक लाख २० हजार पशुलाई खोप लगाइने लक्ष्य राखिएको थियो । तर ९६ हजार ३४७ वटा पशुमा मात्र खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
खोप अभियानको सुरुवात प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले ललितपुर जिल्लाबाट शुभारम्भ गर्नुभएको थियो ।
खोप अभियान अन्तर्गत सिन्धुलीमा १० हजार ३२८, रामेछापमा चार हजार ४३७ , काठमाडौँमा चार हजार ३५० , ललितपुरमा तीन हजार ६०६, भक्तपुरमा एक हजार ५४३ , धादिङमा छ हजार ५१ र काभ्रेपलाञ्चोकमा सात हजार ६९८ पशुमा खोप लगाईएको छ । त्यसै गरी नुवाकोटमा सात हजार ७२४ , रसुवामा तीन हजार ६३४ , दोलखामा नौ हजार ९८२, सिन्धुपाल्चोकमा छ हजार २८४ , चितवनमा छ हजार १५ र मकवानपुरमा २४ हजार ६९५ वटा पशुमा लम्की स्किन रोग विरुद्धको खोप लगाइएको मन्त्रालयको भनाई छ ।
मन्त्रालयको तथ्यांकअनुसार बागमती प्रदेशभर गाई छ लाख ९४ हजार २१७ र भैँसीको संख्या पाँच लाख ४९ हजार १८२ वटा रहेको छ । यस प्रदेशमा वार्षिक चार लाख ८१ हजार ७७१ टन दूध उत्पादन हुने गरेको मन्त्रालयले जनाएको छ ।




