बागमतीमा सवारीसाधनको विद्युतीय अभिलेख गतिहीन 

लोकप्रिय

काठमाडौँ, भदौ २१ गते । सवारीसाधनको विद्युतीय अभिलेखीकरण (डिजिटाइजेसन) ले गति लिन सकेको छैन । श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमतीले दुई वर्षमा सम्पन्न गर्ने गरी सुरु गरेको डिजिटाइजेसन पाँच महिनामा जम्मा एक लाख ५४ हजार ८९६ वटा सवारीमा सम्पन्न गरेको छ । मन्त्रालयका अनुसार बागमतीमा झन्डै २२ लाख सवारीसाधन छन् । यही गतिमा काम भयो भने वर्षमा पाँच लाख सवारी पनि डिजिटाइजेसन गर्न गाह्रो छ । मन्त्रालयका अधिकृत खगेन्द्र पौडेलले भन्नुभयो, “दुई वर्षमा सम्पन्न गर्ने उद्देश्य हो । सुरुका दिनमा भन्दा गति बढेको छ । बानी पर्दै गएपछि बढ्छ नै । थप जनशक्तिको व्यवस्थापन पनि हुन्छ ।”

डिजिटाइजेसनको काम काठमाडौँ उपत्यकामा यातायात व्यवस्था कार्यालय एकान्तकुनाले सानाठुला सवारी र यातायात व्यवस्था कार्यालय गुर्जुधाराले मोटरसाइकलको गरिरहेका छन् । गुर्जुधाराले हालसम्म ७६ हजार ४४ सवारीको डिजिटाइजेसन गरेको छ । एकान्तकुना कार्यालयले ५२ हजार ८४५ सवारी गरेको छ ।

हेटौँडा र भरतपुरबाट पनि डिजिटाइजेसनको काम भएको पौडेलले जानकारी दिनुभयो । यातायात सेवा कार्यालय भरतपुरले १९ हजार ५७३ र हेटौँडा कार्यालयले सात हजार ४३४ सवारी डिजिटाइजेसन गरेका छन् । ज्यालादारी कर्मचारी राखेर डिजिटाइजेसनलाई तीव्रता दिइएको एकान्तकुना कार्यालयका प्रमुख पवित्र कुँवरले जानकारी दिनुभयो । गुर्जुधारा कार्यालयले पनि ५० जना ज्यालादारी कर्मचारी राखेर अभिलेखको काम गरिरहेको छ । गुर्जुधाराले दुईपाङ्ग्रे र एकान्तकुना कार्यालयले चारपाङ्ग्रे सवारीको अभिलेख राखेका छन् । अभिलेख नागरिक एपबाट पनि हेर्न सकिने छ । विद्युतीय अभिलेख भएपछि कर चुक्तालगायतका जानकारी अनलाइनमै उपलब्ध हुने छ । कागजात बोकिरहन पर्दैन । पौडेलले भन्नुभयो, “एकीकृत अनलाइन डाटा उपलब्ध हुन्छ । नियन्त्रण र नियमन अनलाइनबाट हुन्छ ।” लगत कट्टालगायत २० वर्ष पुराना सवारीलाई पत्रु बनाउनु पनि अनलाइन अभिलेखबाट सहयोग हुने मन्त्रालयको दाबी छ ।

ताजा समाचार

Related Articles