कांग्रेस विचारविहीन बन्दैको प्रति चिन्ता

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ २२ गते । नेपाली कांग्रेस विचारविहीन बन्दै गएकोप्रति चिन्ता व्यक्त गरिएको छ ।
नेपाल प्रजातान्त्रिक सेनानी संघ मकवानपुर जिल्ला कार्यसमितिले हेटौँडामा शनिबार आयोजना गरेको कार्यक्रमका वक्ताहरुले कांग्रेस विचार र नीतिविहीन बन्दै गएको प्रति चिन्ता व्यक्त गरेका हुन् ।
११२ औँ बिपी जयन्तीको अवसरमा आयोजिना गरिएको अन्तरक्रिया, सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रमका बक्ताहरुले पछिल्लो समयमा कांग्रेसले बिपीको विचार बिर्सदै गएको बताए ।
कांग्रेस बागमती प्रदेश समितिका संगठन विभाग प्रमुख एवं कांग्रेस मकवानपुरका पूर्व सभापति रामचन्द्र अर्याल माइकलले कांग्रेस पछिल्लो समय बिपीको विचारभन्दा फरक बाटोबाट चलेको बताउनुभयो ।
उहाँले बिपीको जुन विचार र सिद्धान्त हो त्योभन्दा फरक बाटोमा कांग्रेस लाग्दा जुन लक्ष्य र उद्देश्यका लागि आन्दोलन भएको हो त्यो लक्ष्य र गन्तव्यमा पुग्न नसकेको भन्दै पार्टीमा अराजकता बढ्दै गएको बताउनुभयो ।
उहाँले पार्टीमा तडकभडकको राजनीति मौलाउँदै गएको भन्दै विचार र निष्ठाको राजनीति गर्ने पछाडि परेको बताउनुभयो ।
कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपानेले बिपीको कार्यकर्ता भन्ने तर आचरण शैली र व्यवहार उल्टो पाइएको भन्दै यसमा सुधार आवश्यक भएको बताउनुभयो ।
उहाँले कांग्रेसभित्र इमानदार र विचार बाकेका कार्यकर्ता र नेतालाई पछाडि पार्ने काम हुँदा कांग्रेस कमजोर बन्दै गएको बताउनुभयो ।
प्रजातान्त्रिक सेनानी संघ बागमती प्रदेशका महासचिव सागरराज मुल्मीले कांग्रेसका कार्यकर्तालाई अन्य पार्टीलाई मतदान गर्न बाध्य बनाउने बढ्दो प्रवृत्तिले कांग्रेसलाई वैचारिक रुपमासमेत कमजोर बनाउने काम भएको धारणा राख्नुभयो ।
प्रजातान्त्रिक सेनानी संघ मकवानपुरका अध्यक्ष दीपकलाल खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा राधा कोइराला, बासुदेव वत्स, होमप्रसाद न्यौपाने, अशोक डिम्डुङलगायतका वक्ताहरुले बिपीको विचार र सिद्धान्तमा कांग्रेसलाई हिडाउन नसकेमा कांग्रेसको अवस्था अझ खस्कने भएकोले कांग्रेसको संगठनलाई सुधार गर्न सुझाउनुभएको थियो । कार्यक्रममा प्रजातन्त्र प्राप्ति र कांग्रेसमा योगदान गरेको प्रजातान्त्रिक सेनानीहरुलाई सम्मान गरिएको थियो ।

ताजा समाचार

Related Articles