काठमाडौँ, भदौ २३ गते। काठमाडौँमा आज भएको ‘जेनजी’को प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ।
प्रदर्शनको क्रममा घाइते भई विभिन्न अस्पतालमा उपचाररत १४ प्रदर्शनकारीको मृत्यु भएको हो ।
यसैगरी, विभिन्न अस्पतालमा १०० जनाभन्दा बढी घाइते प्रदर्शनकारीहरूको उपचार भइरहेको छ ।
ट्रमा सेन्टरमा उपचाररत छ प्रदर्शनकारीको मृत्यु भएको छ ।
यसैगरी, २५ जना घाइतेको उपचार भइरहेको ट्रमा सेन्टरले जनाएको छ । उनीहरूमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।
उता, सिभिल अस्पतालका अनुसार उपचाररत घाइते प्रदर्शनकारीमध्ये हालसम्म तीन जनाको मृत्यु भएको छ ।
काठमाडौँ मेडिकल कलेजमा उपचाररत २० घाइतेमध्ये एकको मृत्यु भएको छ ।
एभरेष्ट हस्पिटलमा ३४ जना उपचारत मध्ये तीनको मृत्यु भएको छ ।
शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एक जनाको मृत्यु भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा १६ जना घाइतेको उपचार भइरहेको छ ।
उपचाररत घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ ।
जेनजी प्रदर्शनमा भएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभएको छ ।



