खासकुरा संवाददाता
हेटौँडा, भदौ २७ गते । देशभर भदौ २४ गते मंगलबार भएको ‘जेनजी’ (नयाँ पुस्ता) को आन्दोलनको क्रममा विभिन्न स्थानबाट चोरी गरेका सवारी साधनलगायतका सामाग्रीहरु तत्काल फिर्ता गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले आग्रह गरेको छ ।
आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर तथा मातहत प्रहरी कार्यालयहरु, विभिन्न सरकारी कार्यालयहरु, प्रतिष्ठान, भाटभटेनीलगायत व्यापारिक भवन, व्यक्तिगत पसलहरुबाट चोरी गरेको सामानहरु फिर्ता गर्न प्रहरीले अनुरोध गरेको हो ।
सरकारी कार्यालय, प्रतिष्ठान, पसललगायतका स्थान र व्यक्तिगत सम्पत्ति चोरी, लुटपाट तथा डकैती गरी लगेका जिन्सी सामाग्री, प्रहरी पोशाक तथा सुरक्षाका सामानहरु, सवारी साधनहरु यथाशिघ्र जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी कार्यालयहरुमा फिर्ता गर्नुहुन शुक्रबार सूचना जारी गर्दै अनुरोध गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले सूचनामा भनेको छ, अन्यथा त्यस्ता सामाग्रीहरु फिर्ता नगरेमा सम्बन्धित व्यक्तिहरुलाई प्रचलित कानून बमोजिम कारबाही भई जाने छ ।
उक्त चोरी तथा लुटपाट गरेको फोटो, भिडियो भएको लिङ्कहरु भए यस कार्यालयको dpomakwanpurcdr@gmail.com मा पठाई अनुसन्धान कार्यमा सहयोग गर्न सूचनामार्फत अनुरोध गरिएको छ । साथै फोटो तथा भिडियोहरु पठाउने व्यक्तिहरुको नामथर ठेगाना गोप्य राखिने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।




