मकवानपुरका सरकारी कार्यालयले आजबाट आंशिक रुपमा सेवा सुरु गर्ने

लोकप्रिय

हेटौँडा, भदौ २९ गते । जेनजी (नयाँ पुस्ता) को आव्हानमा भदौ २४ गते भएको आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाट गरिएको स्थानीय तह, सरकारी कार्यालय, सरकारी तथा व्यापारिक प्रतिष्ठानमा सरसफाई थालिएको छ ।
आन्दोलनका क्रममा गरिएको आगजनी र तोडफोडबाट मकवानपुरका वडा कार्यालयदेखि प्रदेश सरकारका मन्त्रालयहरुसम्ममा ठुलो परिमाणमा क्षति पुगेको छ ।
प्रदेशको राजधानीसमेत रहेको हेटौँडामा सबैभन्दा बढी प्रदेशका संरचना भ्रष्टाचार विरुद्ध सडकमा उत्रिएका आन्दोलनकारीको निशाना परेको छ ।
कतिपय व्यक्तिका निजी सम्पत्तिमा समेत आन्दोलनकारीले मंगलबार भएको आन्दोलनका क्रममा आगजनी र तोडफोड गरिएको छ ।
स्थानीय जनजीवन सामान्य बन्दै गएसँगै हेटौँडा उपमहानगरपालिका, अदालतलगायतका कार्यालयहरु आज आइतबारबाट सेवा आंशिक रुपमा सुचारु गगरिने भएको छ ।
हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले आज आइतबारबाट सेवा प्रवाह गर्ने जानकारी दिनुभयो ।
उपमहानगर कार्यालयमा भएको तोडफोड र आगजनीबाट ठुलो क्षति भएको छ उहाँले भन्नुभयो, उपलब्ध साधन स्रोत र थप साधन स्रोतको जोहो गरेर आज आइतबारबाट सेवा सुचारु गर्दै छौ ।
उहाँले मंगलबारबाट कार्यालय बन्द हुँदा नागरिकका सामान्य समस्या अड्किएर बसेका छन्, फोनहरु आइरहेको छ भन्दै कार्यालय बन्द हुँदा सामान्य सिफारिशमा नागरिकले पाउने सुविधासमेत बाट वञ्चित हुने अवस्था रहेकोले सेवा सुचारु गर्न लागेको बताउनुभयो ।
बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानले पालिकाबाट प्रदान गर्ने सेवा आइतबारबाट सुचारु गर्ने बताउनुभयो । उहाँले आगजनी र तोडफोडबाट भौतिक संरचनाहरुमा क्षति भएपनि कागजपत्र सुरक्षित रहेको भन्दै अब सेवा प्रवाहसँगै विकास निर्माणका कामलाई पनि पूर्ववत् सुरु गरिने बताउनुभयो ।
यस्तै पाटन उच्च अदालत पाटन, हेटौँडा इजलाश र जिल्ला अदालत मकवानपुरले पनि आज आइतबार आंशिक रुपमा सेवा सुचारु गर्नेभएका छन् । दुवै अदालतमा अदालतका कर्मचारी र कानुन व्यवसयाीले सरसफाई गरेका थिए ।
मकवानपुर जिल्ला अदालत, हेटौँडाले भदौ २४ गते जिल्ला अदालतमा भएको आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाका कारण अदालतको भौतिक संरचना एवं सूचना प्रणाली क्षतिग्रस्त भएको हुँदा हाल यस अदालतको नियमित कामकारवाहीहरु अवरुद्ध भएको जनाएको छ ।
अदालतका श्रेस्तेदार रोशी भण्डारीले आज आइतबारबाट बन्दीप्रत्यक्षीकरण, पक्राउ अनुमति÷स्वीकृति, कल डिटेल, म्याद थप र थुनछेकको सुनुवाईको कार्य शुरु हुने बताउनुभयो ।
उहाँले अन्य मुद्दाका कामकारवाही सुचारु गर्ने सम्बन्धमा यथासमयमा जानकारी गराईने भन्दै विषम परिस्थितिका वावजुद अदालतबाट मुद्दा दर्ता एवं सुनुवाई समेतका कामकारवाही सुचारु गर्ने सम्बन्धमा प्रयत्न भईरहेको जानकारी गराउनुभयो ।
दुवै अदालतबाट हाललाई नियमित मुद्दाको सुनुवाई भने नहुनेभएको छ ।
आइतबारबाट सेवा सुचारु गर्ने भएपछि तोडफोडबाट क्षति भएका नागरिकसँग प्रत्यक्ष जनसम्पर्क हुने सरकारी कार्यालयहरुमा सरसफाई गरी कर्मचारीहरुलाई नियमित आउन भनिएको छ ।
यसैबिच जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभर लगाइएको निषेधाज्ञा तथा कफ्र्यु शनिबारबाट हटाएको छ ।
असहज अवस्था सिर्जना भएको भन्दै मंगलबार र बुधबार हेटौँडा बजार क्षेत्रका कफ्र्यु र २६ गतेबाट जिल्लाभर निषेधाज्ञा तथा कफ्र्यु आदेश जारी गरेको थियो ।

ताजा समाचार

Related Articles